काठमाडौं । सहकारीको वार्षिक साधारणसभालाई तामझामरहित केवल सदस्यहरुको सभा बनाउनुपर्छ भनिदै आएको छ । विगतमा साधारणसभाको नाममा अत्यधिक खर्च, मञ्चभर अतिथिहरु, लम्बेतान भाषण, सांस्कृतिक कार्यक्रम, सम्मान पुरस्कार आदिले साधारणसभाको मर्म अनि मुल मुद्दा र एजेण्डा ओझेलमा पर्दै आएको थियो । साधारणसभाहरु 'असाधारण सभा' मा परिणत हुँदै आएका थिए ।
सोही कारण नियामकीय निकायबाट समेत पछिल्लो समय कम खर्चमा तामझामरहित तर सदस्य केन्द्रित साधारणसभा गर्न निर्देशन जारी हुँदै आएको छ । सहकारी विभाग र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारीमा अतिथि, माला र भोज होइन सदस्यहरुको बलियो सहभागितामा एजेण्डा केन्द्रित घनीभूत छलफल आवश्यक पर्ने भन्दै गत वर्ष नै निर्देशन जारी गरेका थिए । तर, पनि त्यस्ता निर्देशनहरु सुनेको नसुनेकै गर्ने परिपाटी विद्यमान छ । तर, केही सहकारी यस्ता छन् जसले वास्तवमै सदस्यहरुको विशेष सभाका रुपमा साधारणसभा आयोजना गर्दछन् । त्यस्तै, मध्येको एक हो दाङको सिसहनियाँ-५ स्थित हरियाली बचत तथा ऋण सहकारी संस्था ।
उक्त संस्थाले आफ्नो आधिकारिक फेसबुकमा केही तस्बिरहरु शेयर गरेको छ जसमा साधारणसभाको वास्तविक अर्थ र मर्म झल्कन्छ । कुनै मन्दिरको खुला चौरमा कुनै मञ्च र तामझाँम नगरी साधारण हिसाबले तर बाक्लो सहभागिताबीच साधारण सभा हुँदै गरेका ती तस्बिरमा देख्न सकिन्छ । तिनै तस्बिरहरुलाई पछ्याउँदै धिप्री डटकमले उक्त संस्थाका व्यवस्थापक उमेश कुमार चौधरीसँग सम्पर्क गरी थप बुझेको छ ।
व्यवस्थापक चौधारीका अनुसार हरियाली साकोसको १९ औ वार्षिक साधारणसभा अन्तर्गत दियो सेवा केन्द्र लमहीको लमही नगरपालिका ६ स्थित गोरक्षनाथ मन्दिरमा आयोजित एकाइगत सभाका तस्बिरहरु हुन् । उहाँका अनुसार संस्थाका अध्यक्ष रमेश बहादुर थापाले अध्यक्षता गर्नुभएको उक्त सभाको उद्घाटन जेष्ठ सदस्य कृष्ण बहादुर के.सीले गर्नुभएको थियो । व्यवस्थापक उमेश कुमार चौधरीले धिप्री डटकमसँग भन्नुभयो, 'उक्त एकाइगत साधारणसभामा ९ सय बढी सदस्यको बाक्लो सहभागिता थियो । त्यो निक्कै उत्साहजनक हो । हामीले खर्च पनि एकदमै कम गरेर मितव्ययीतापूर्वक एकाइगत साधारणसभा सक्यौं । कार्यक्रमको अन्त्यमा सदस्यहरुलाई एक कप चिया र बिस्कुट मात्र खुवायौं । सदस्यहरु धेरै धेरै टाढाबाट सहभागी हुनुभएको थियो ।'
रोचक कुरा त के छ भने ५९६६ सदस्य र ६३ करोड ३७ लाख बढी कुल सम्पत्ति रहेको हरियाली साकोसले उक्त एकाइगत सभाका लागि कुनै अग्लो मञ्चको व्यवस्था गरेको थिएन, गैर सदस्य सहभागी गराएको थिएन र तामझाम गरेको थिएन । न माला, न मञ्च, न अतिथि, न मायाको चिनो । बिशुद्ध सदस्यहरुको सभा र एजेण्डा उपर छलफललाई बढी जोड दिइएको व्यवस्थापक चौधरीले जानकारी गराउनुभयो ।
'स्थानीय सदस्यहरु रहेको मन्दिर परिसरमा निःशुल्क रुपमा सभा आयोनजा गरिएको हो । हाम्रा सदस्यहरुको सहभागितामा यहाँ मन्दिर सरसफाई कार्यक्रम पनि निरन्रत रुपमा गर्दै आएकाले कुनै शुल्क पनि तिर्नुपर्दैन स्थानको लागि, 'चौधरीले भन्नुभयो । साथै उहाँले संस्थाले दियो सेवा केन्द्र बाहेक बाघनाथ संकलन केन्द्र अन्तर्गत यही असोज ७ गते र मुख्य कार्यालय अन्तर्गत असोज १० गते हुने एकाइगत सभासभा पनि यस्तै प्रकारको मितव्ययी र सदस्य केन्द्रित हुने बताउनुभयो । '१० गतेको साधारणसभामा हामीले सदस्य सम्मान गर्छौं जसमा केवल संस्थाको लोगो भएको कप र सम्मान पत्र मात्र दिन्छौं । हामी फजुल खर्च गरेर संस्था राम्रो हुन्छ भन्ने विश्वास गर्दैनौं, 'चौधरीले भन्नुभयो । हरियाली साकासले एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभा असोज १४ गते आयोजना गर्दैछ ।
सदस्य र अतिथि वा सञ्चालक समितिबीच स्पष्ट विभाजनको रेखा कोर्ने अग्ला मञ्च, सजावट माला खादा, महंगा उपहार, अतिथि यातायात, भोजभतेर, पार्टी प्यालेस खर्च आदि बिनै साधारणसभा पनि सम्भव छ भन्ने उदाहरण हरियाली साकोसले प्रस्तुत गरेको व्यवस्थापक चौधरीले बताउनुभयो । हुनत दाङमै पनि केही खर्च गरेर साधारणसभा गर्नेहरु पनि छन् । संस्थाको अवस्था पनि नराम्रो छैन । ल्याकत पनि राख्छ तर हरियाली साकोसले सदस्यहरुको जीवनलाई हरियाली बनाउने उद्देश्य बोकेकोले अन्य फजूल र देखावटी कुरालाई भन्दा विधि, प्रक्रिया र स्थानीय आवश्यकता सम्बोधन गर्ने प्रयास गरेको व्यवस्थापक चौधरीले बताउनुभयो ।
२०६२ माघ १० गते स्थापित समुदायमा आधारित सदस्य केन्द्रित हरियाली साकोसले रसुवा बाढीपीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ४ हजार बढी योगदान गरेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com