एजेन्सी । न्यूजिल्याण्डमा सार्वजिनक स्थानमा जहाँकहीँ पनि जाँदा उनलाई सबैले घेर्छन् र चिच्याइचिच्याइ भन्छन्, ‘जेसिन्डा ! जेसिन्डा ! जेसिन्डा !’ किनकि उनी त्यहाँ निक्कै लोकप्रिय छिन् । नहुन पनि किन ? उनी त्यहाँको पूर्व प्रधानमन्त्री जो हुन् । त्यति मात्र होइन लोकप्रिय महिला प्रधानमन्त्री । स्पष्टवक्ता, चामत्कारिक शक्ति भएकी, प्रेरणादायी र मुलुकका लागि योगदान दिएकी नेतृ हुन् ।
न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्री, विश्वकी सबैभन्दा कान्छी सरकार प्रमुख , प्रधानमन्त्री रहँदै सन्तानलाई जन्म दिने विश्वकी दोस्रो महिलासँगै हजारौंकी प्रेरणा स्रोत जेसिन्डा आर्डर्न ।
तिनै जेसिन्डालाई बोस्टनको कफी सप वा अन्यत्र जाँदा कतिपय मानिसहरु चिन्दैनन र झुक्किन्छन् पनि । उनलाई भेटेपछि कतिजना भन्छन्, ‘तिमीलाई कतै देखेको हो हामीले । तिमी परिचित अनुहार हौं । ए, थाहा पायौं तिमी त टोनी कलेट (चर्चित अष्ट्रेलियन अभिनेत्री, गीतकार एवम् गायिका) हौं ।’ जवाफ सुनेपछि जेसिन्डा हाँस्छिन् ।
उनै जेसिन्डाको जीवनका उतारचढाव समेटिएको पुस्तक 'अ डिफरेन्ट काइन्ड अफ पावर' आज सार्वजनिक भएको छ भने उनको जीवन वृत्तान्त समेटिएको डकुमेन्ट्री ‘द प्राइमिनिष्टर’ जुन १३ मा रिलिज हुँदै छ । लीडरशीप गुणहरु सिक्न चाहने युवाहरुका लागि प्रेरणादायी पुस्तक भएको प्रकाशकले जनाएको छ । ‘द सिड्नी मर्निङ हेराल्ड’ की एक महिला समीक्षकले लेखेकि छन्, ‘६० पृष्ठ पढिसक्दा म दुई पटक रोएँ । अनि, म जेसिन्डाको छोरीका लागि हासेँ पनि, रोएँ पनि र गर्व पनि महसूस गरेँ ।’
सन् १९८० मा जन्मिएकी एक पुलिस अफिसरकी छोरी जेसिन्डा युवा अवस्थामा कम बोल्ने र संकोच मान्ने प्रवृत्तिकी थिइन् । उनमा आत्मविश्वासको अभाव थियो । उनी ‘इम्पोस्ट सिन्ड्रोम’ बाट ग्रसित थिइन । तर, आफ्नै क्षमताप्रति शंका गर्ने उनी कसरी न्यूजिल्याण्डको प्रधानमन्त्री निर्वाचित हुने जस्तो जनविश्वासको जनसागरमा पौडिन सफल भइन् भन्ने कुरा जीवनवृत्तान्त (मेमोअ) मा उल्लेख छ । उनले अन्तर्वार्तामा भनेकि छिन्, ‘म प्रधानमन्त्री बन्छु भनेर कहिल्यै सोचेकी थिइनँ ।’ तर, परिस्थिति यस्तो बन्यो कि, सन् २०१७ को निर्वाचन पूर्व उनी न्यूजिल्याण्डको वामपन्थी दल लेबर पार्टीकी नेतृ बनिन् । र, निर्वाचनमा विजयी भएर मुलुकको कार्यकारी प्रमुख चुनिइन् । प्रधानमन्त्री बनेको केही सातापछि उनले घोषणा गरिन्, ‘म आमा बन्दै छु ।’
यसबाहेक जीवनका अनगिन्ती मोडहरुबारे पुस्तकमा उल्लेख गरिएका छन् । पुस्तक उनको ‘स्ट्रगल’ देखि ‘सरप्राइज’ समेटिएको संग्रहणीय सरप्राइज भएको प्रकाशकले दाबी गरेको छ । पुस्तक केवल राजनीतिक चर्चा मात्र नभई आफूले आफैलाई विश्वास गर्न नसकिरहेकाहरुका लागि प्रेरणा समेत भएको प्रकाशकले जनाएको छ ।
खासगरी २०१९ मा क्राइस्टचर्चस्थित मस्जिदमा भएको आक्रमणपछि बन्दुक नियन्त्रणका सम्बन्धमा जेसिन्डा नेतृत्वको सरकारकाले लिएको नीतिको प्रशंसा भएको थियो । त्यस्तै, कोभिड १९ महामारीमा सर्तकता र सावधानी अपनाइ न्यून क्षति पुग्न उनी नेतृत्वको न्यूजिल्याण्ड सरकारले अवलम्बन गरेको नीति आदिबारे पनि पुस्तकमा उल्लेख छ । पुस्तकमा उनले ६ वर्षे कार्यकालपछि राजीनामा गर्ने निर्णय पछिका कारणहरुबारे पनि स्पष्ट सँग उल्लेख गरेकी छिन् ।
जेसिन्डा जब ३७ वर्षको उमेरमा न्यूजिल्याण्डकी प्रधानमन्त्री बनिन् तब विश्वको ध्यान आफूतिर आकर्षित गर्न सफल भइन् । त्यतिमात्र होइन प्रधानमन्त्री भएपछि उनले लिएका निर्णयहरु, सम्पादन गरेका कामहरु (केही छोडेर), देखाएको सक्रियता, जनतासँग प्रत्यक्ष र सहज संवादको थालनी, नेतृत्व कौशल, उत्प्रेरणा आदिका कारण उनी चाँडै लोकप्रियताको शिखरमा पुगिन् । महिला शसक्तिकरणको उम्दा उदाहारण हुन् जेसिन्डा ।
र, अर्को संयोग कस्तो पनि रह्यो भने उनी प्रधानमन्त्री हुँदा न्यूजिल्याण्डको संसद तथा सरकारले गर्ने नियुक्तिहरुमा महिला प्रतिनिधित्व ५० प्रतिशत पुगेको थियो । महिला अधिकार, समानता तथा सशक्तिकरणको दिशामा त्यो स्वर्णिम काल विश्वले सधैं सम्झिरहनेछ । उनले गर्भपतनलाई महिला गैरअपराधिकरण गरिन्, महिला पुरुषहरुबीच समान कामका लागि समान ज्यालामा जोड दिईन् र ‘पेड पेरेन्डल लीभ’ लाई ६ महिना कायम गरिन् । त्यस्तै, वाकपटुता जेसिन्डाको अर्को गुण हो । उनी स्पष्टवक्ता समेत थिइन् र आज पनि छिन् । अनि, प्रधानमन्त्री (२०१७–२०२३) बाट राजीनामा गरेपछि उनी सपरिवार अमेरिका मुभ भइन् । हाल ४४ वर्षकी जेसिन्डा हार्वर्ड विश्वविद्यालयमा ‘एम्पथेटिक लीडरशीप’ विषयमा कोर्ष पनि गदैर्छिन् जुन विश्वविद्यालयबाट उनले मानार्थ विद्यावारिधि सम्मान प्राप्त गरिसकेकी छिन् ।
पेन्गुइन रयाण्डम हाउस न्यूजिल्याण्डले प्रकाशन गरेको ३५२ पृष्ठको पुस्तक रोमाञ्चकताले भरिएको दाबी गरिएको छ । पुस्तक हार्ड कभर, इबुक तथा अडियोबुकमा रुपमा उपलब्ध छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com