Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
जेठ १५ देखि 'महाभोज'

सहकारी समस्याको वास्तविकता यो फिल्मले बोलेको छ, एक वर्ष अघि नै बन्नुपर्थ्यो

सहकारी समस्याको वास्तविकता यो फिल्मले बोलेको छ, एक वर्ष अघि नै बन्नुपर्थ्यो

काठमाडौं । सहकारी पीडितहरुको आर्थिक, सामाजिक र मनोवैज्ञानिक पीडालाई कथानक रुपमा पर्दामा उतारिएको चलचित्र 'महाभोज' ले यो समस्याको गहिराइमा पुगी समाधानको प्रयास गर्न सहयोग पुग्ने विश्वास यस क्षेत्रमा संलग्नहरु तथा पीडितहरुले लिएका छन् । भोलि बिहीबार जेठ १५ देखि प्रदर्शन हुने फिल्मको हिजो बेलुकी सिभिल मलको हलमा गरिएको विशेष शो हेरेपछि प्रतिक्रिया दिदैं उनीहरुले फिल्मले सहकारी पीडिहरुको वास्तविकता बोलेको बताएका छन् । उनीहरुले सहकारी समस्या उजागर गर्न फिल्म सफल भएको प्रतिक्रिया व्यक्त गरेका हुन् । चलचित्रका व्यक्तिहरुसँगै सहकारी पिडितहरुलाई पनि विशेष शोमा निम्त्याइएको थियो ।

कलाकार तथा निर्देशक निश्चल बस्नेतले भन्नुभयो, 'सहकारी समस्याको गहिराइमा पुर्याउन यो फिल्मले नयाँ डिबेट शुरु गर्छ । सहकारी समस्याको जडलाई स्क्रिनप्लेको फरम्याटमा सही, रोचक र वास्तविक रुपले फिल्ममा देखाइएको छ । गहिरो समस्यालाई सही रुपमा फिल्ममा देखाइएको छ । यसले यो इस्यूलाई अझ ठूलो स्केलमा पुर्याउन मद्दत गर्छ । हल हलमा यो फिल्म चलिरहँदा र यसका बारेमा बोलिरहँदा सरोकारवालाहरुको कानमा पुग्छ भन्ने लाग्छ । दिनेश दाइले राम्रो फिल्म बनाउनुपभएको छ, इस्यू वाइज पनि मेकिङ वाइज पनि । र, यो चलचित्र हिट हुन्छ र सँगै यो इस्यू पनि समाधान होस् पीडितहरुले न्याय पाउनुहुनेछ भन्ने विश्वास लिएको छु । चलचित्रले दर्शकलाई बाँध्छ ।'  उहाँले थप्नुभयो, 'आम जनतामात्र होइन यो चलचित्र नेताहरुले हेर्नुपर्छ ।'

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महाभियान महासंघका केन्द्रीय कोषाध्यक्षले भन्नुभयो, 'आज हामी २८ महिनासम्म संघर्ष गदै गैरहेका छौं । एक वर्ष अघि नै बन्नुपर्ने फिल्म रहेछ यो । आफ्नो पीडा चलचित्रको माध्यमबाट ठूलो स्केलमा मास दर्शक र सरोकारवालाहरुकोमा पुगेकोमा खुसी छौं । हाम्रो वास्तविकता फिल्ममा प्रष्ट रुपमा खुलाइएको छ । यो फिल्मका निर्मातालाई म आत्मादेखि नै धन्यवाद दिन चाहन्छु । सरकारसँग न्याय माग गर्दा पाएका छैनौं । शासकहरु बिग्रिएका कारण सहकारी समस्या आएको चलचित्र हेरेपछि प्रष्ट हुन्छ । सरकार नै भ्रष्ट भएपछि हामीले कसरी न्याय पाउँछौ ? वास्तविकता यो फिल्मले खोलेको छ । यो फिल्ममार्फत वास्तविकता आज खुल्यो । भ्रष्ट नेताहरुले नै जनताको पैसा खाएका रहेछन् । अब सहकारी पीडितहरु जागे । मेरो आत्मबल बढेको छ । बजेट भाषणमा सरकारले सहकारी पीडितहरुको समस्या समाधान गर्न ठूलो बजेट छुट्याउनुपर्छ । अन्यथा बजेट भाषणपछि हामी ७४ लाख सहकारी पीडित सडकमा उत्रन्छौं ।'

आन्दोलनका क्रममा ४२ दिन घाइते हुनुभएका अर्का एक सहकारी पीडितले भन्नुभयो, 'चलचित्रमा सोझो पात्र निर्वाह गर्नुभएका दयाहाङ राईलाई नेताले जागिरको आश देखाएर सहकारी सञ्चालक बनाएर सदस्यहरुको बचत अपचलन गरेको विषय राम्रोसँग चित्रण गरिएको छ । फिल्म एकदमै हेर्न योग्य छ । यो फिल्म सहकारी पिडितहरुले हेनुपर्छ किनकि यो हामीहरुको अर्को आन्दोलन हो । यो फिल्मले अर्को आन्दोलन गर्दैछ । यसले तपाईहरु सुतेर बस्न हुँदैन, अधिकार मागेर पाइदैन खोस्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ । यो कानुनी राज्य हो भन्ने विषय सरकार र सरोकारवालाहरुलाई अनुभूति गराउन सहकारी पीडितहरु अब सुतेर बस्नुहुँदैन अधिकार माग्न अघि बढ्नुपर्छ भनेर यो फिल्मले भन्छ । पीडितहरुलाई यो फिल्मले जगाउँछ ।'

अर्की एक सहकारी पीडित महिलाले भन्नुभयो, 'चलचित्र एकदम राम्रो बनेको छ । यसमा दुइमत नै छैन । बसुन्धरा भुषाल दिदीको लास्टको सिनमा आँसुनै आयो । किनभने हाम्रै सहकारी (सिभिल सहकारी) का पनि १८ जना पीडितहरु आफूले राखेको पैसा माग्दा नपाएर विभिन्न तनावहरु भोग्दै बिरामी परेर ज्यान गुमाउनुपर्यो । त्यसले मलाई एकदमै टच गर्यो । एउटा खट्किएको कुरा भनेको सहकारीको रकम अपचलनमाकुनै न कुनै रुपमा संलग्न उच्च ओहोदाको व्यक्तिले भने सजायँ पाएको देखिएन । किनभने दुरुपयोग भएको रकमको हिस्सा त एकदमै टपमोष्ट लेबलमा पनि पुगको यो फिल्मले देखाउँछ । सहकारीको रकम दुरुपयोगमा संलग्न तलदेखि माथिका सम्म सबैले ढुंगा खाएको देखिनुपर्थ्यो।  अर्को भनेको सहकारीमा सञ्चालकहरुले बद्मासी गरेको त छ नै तर यो चलचित्रमा अध्यक्षले बद्मासी गरेको धेरै देखिएन । धेरैजसो सहकारीमा अध्यक्ष तथा सञ्चालकहरुले बदमासी गरेका छन् । तर, त्यो उनीहरुले राजनीतिक संरक्षणको आडमा गरेका छन् ।'

अर्का एक पाका पीडितको प्रतिक्रिया थियो, 'यो एकदमै यथार्थपरक फिल्म बनेको छ । हामीले जसरी दुःख पाइरहेका छौं, हामीलाई जसरी अल्झाइराखिएको छ, घुमाइराखिएको छ त्यही वास्तविकता फिल्ममा पनि छ । जसरी माथिकाहरुले ब्युरोक्रेसीलाई काम गर्न दिएको छैन त्यो यथार्थ फिल्ममा चित्रण गरिएको छ ।'

त्यस्तै, अर्को एक पीडित जोडीले भन्नुभयो, 'यो सत्य घटनामा आधारित फिल्म हो । हुनत फिल्मको क्लाइमेक्स जसरी आन्दोलन गरेर वा विद्रोह गरेर त हामी हाम्रो पैसा प्राप्त गर्न सक्दैनौं होला तर सरकारले चाह्यो भने हाम्रो पैसा फिर्ता हुन सक्छ । सहकारी पीडितहरुको पैसा खानेहरुलाई सरकारले नै संरक्षण गरेको छ । त्यसकारण सरकारले चाहने हो भने समस्या समाधान हुन सक्छ ।'

चलचित्रकी कलाकार मलिका महतले आफ्नो नजिककाहरु पनि यही समस्याबाट गुज्रिरहेको देखेका कारण सहकारी पीडितहरुको समस्याबाट आफू टाढा नभएकोले अभिनय गर्न कठिनाइ नभएको र पात्र प्रति न्याय गर्न सकेको बताउनुभयो ।

दिनेश राउत निर्देशित चलचित्र ‘महाभोज’ मा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार