Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
अबिच्यूरी

विश्व सहकारी अभियानले सिङ्गो पुस्तकालय नै गुमाएको छ

विश्व सहकारी अभियानले सिङ्गो पुस्तकालय नै गुमाएको छ

एजेन्सी । साँच्चिकै अन्तर्राष्ट्रिय सहकारी अभियानलाई नजिकबाट अध्ययन अनुसन्धान र खोजमा संलग्नहरुले माथिको प्रतिक्रिया जनाउनुभयो जब उहाँहरुले डा.रिता रोड्सको निधनको खबर सुन्नुभयो । विश्वभरको सहकारी अभियान तथा अभियन्ताहरुले उहाँको निधनप्रति शोक व्यक्त गरेका छन् । सहकारी अध्येता, इतिहासविद्, प्राध्यापक, लेखक एवम् संकलक (आर्काइभिष्ट) डा. रिता रोड्सको हालै बेलायतमा निधन भएको खबर प्राप्त भएको छ ।

रिताले सन् १९९० मा सहकारीमै विद्यावारिधी पूरा गर्नुभएको थियो । उहाँको विद्यावारिधीको शोधपत्र The International Cooperative Alliance during War and Peace 1910-1950 शीर्षकमा थियो जसलाई पछि अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले Thematic Guide to ICA Congresses 1895-1995 को रुपमा प्रकाशन गरेको थियो । सहकारी सम्बन्धी उहाँका थुप्रै पुस्तक प्रकाशित छन् । बेलायतको अल्स्टर विश्वविद्यालयमा प्राध्यापन गर्नुभएकी उहाँले थुप्रै विश्वविद्यालय, क्याम्पस तथा प्राविधिक कलेजहरुमा परामर्शदाताको रुपमा काम गर्नुभयो । उहाँले स्ट्याण्डफर्डस्थित कोअपरेटिभ कलेजमा पनि अध्ययन गर्नुभएको थियो जहाँ नेफ्स्कूनका पूर्व उपाध्यक्ष नारायण शर्मा गजुरेलले पनिसँगै अध्ययन गर्नुभएको थियो । 

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को कानून समिति (ल कमिटी) का अध्यक्ष हेगन हेनरीले प्रारम्भिक प्रतिक्रिया जनाउनुभयो, 'सहकारी विश्वले पुस्तकालय गुमाएको छ ।' रिता रोड्स साँच्चिकै सहकारीसम्बन्धी ज्ञानको इन्साइक्लोपडिया नै हुनुहुन्थ्यो ।

फ्रान्सेली सहकारी अभियानका अध्यक्ष जिन लुईस बान्सेलले पनि रिताको निधन विश्व सहकारी अभियानका लागि ठूलो क्षति भएको उल्लेख गर्नुभएको छ । अष्ट्रेलियाको चर्चित ग्रिफिथ विश्वविद्यालयकी प्राध्यापक सिसेल ग्रिमस्ट्याडले खासगरी दोस्रो विश्व युद्धताका सहकारीमार्फत शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभएको छ ।

आईसीएका पूर्व महानिर्देशक ब्रुनो रोलियन्ट्सले रिताको निधनले अन्तर्राष्ट्रिय सहकारी अभियानले महान इतिहासविद्मध्येका एक गुमाएको बताउनुभएको छ । रिताले युद्ध तथा शान्तिसँग सहकारी क्षेत्रलाई जोडेर अनुसन्धान गर्नुभएको ब्रुनोले बताउनुभएको छ । सन् १८९५ मा भएको पहिलो आईसीए कंग्रेसको सम्बन्धमा आफूले रितासँग अन्तर्वार्ता गरेको स्मरण गर्दै उहाँले त्यो अन्तर्वार्ताले दक्षिण कोरियामा सम्पन्न ३३औं आईसीए कंग्रेसको डकुमेन्टेशन तथा प्रतिवेदन तयारीमा ठूलो सहयोग मिलेको बताउनुभयो । सहकारीसम्बन्धी एउटा पुस्तकको सम्पादनको सिलसिलामा रिताको सहयोगको लागि पछिल्लो समय इमेल संवादमा रहेपनि आफू अस्वस्थ भई हस्पिटलमा रहेको उहाँले ब्रुनोलाई बताउनुभएको थियो ।

त्यस्तै आईसीएका अर्का पूर्व महानिर्देशक इयान म्याकडोनाल्डले पनि रिताको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

यसैगरी, आईसीएका कानून निर्देशक सन्तोष कुमारले पनि आफू रिताको निधनको खबरले स्तब्ध भएको बताउनुभएको छ । उहाँले भन्नुभएको, रिताले अन्तर्राष्ट्रिय सहकारी अभियानको संरक्षण र प्रवर्धन गर्नुभयो । अनि आईसीएमै काम गर्दादेखि नै उहाँमा बसेको इतिहास संरक्षणको बानी जागिर छोडेर अभियन्ता बन्दा समेत छुटेन । जीवनको अन्तिम घडीसम्म पनि उहाँले सहकारी अभियानबारे चिन्तन र मनन गर्नुभएको बेलायती सहकारी अभियानले जनाएको छ । रिता रोड्स नेपालको सहकारी अभियानबारे पनि जिज्ञासु हुनुहुन्थ्यो ।

rita-rhodes-1178263568.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार