काठमाडौं । पशुपतिनाथ मन्दिर र दक्षिणकाली मन्दिरबीच ऐतिहासिक, धार्मिक एवं पर्यटकीय सम्बन्ध स्थापनाको पहल शुरु भएको छ । काठमाडौं उपत्यकाभित्रका दुई छिमेकी स्थानीय तहमा अवस्थित प्राचीन मन्दिरबीच औपचारिक तवरमा बहुआयामिक सम्बन्ध गाँस्ने गरी काम शुरु भएको छ । यसै सिलसिलामा पशुपति क्षेत्र विकास कोष र दक्षिणकाली नगरपालिकाका अधिकारीहरुबीच प्रारम्भिक छलफल भएको छ । हिजो साँझ कोषको कार्यालयमा भएको छलफलमा दूरीका हिसाबले समेत दुई निकट मन्दिरहरुबीचको सम्बन्धको घनत्व अझ गहिरो र बलियो हुने गरी काम गर्ने दिशामा सकारात्मक पहल थालनी भएको छ ।
नगरपालिकाका नगरप्रमुख मोहन बस्नेत, उप्र प्रमुख बसन्ती तामाङ डङगोल लगायतले कोषका सदस्य सचिव तीर्थ प्रसाद श्रेष्ठ, कोषाध्यक्ष मीना कुमारी श्रेष्ठ लगायतका पदाधिकारीहरुसँग छलफल गरेका छन् । उक्त छलफलमा दुई मन्दिरबीचको सम्बन्धलाई औपचारिक एवम् संस्थागत गर्ने गरी कार्ययोजना निर्माणको मसौदा तयार पार्ने सहमति भएको छलफलमा सहभागी नेपाली लेखक संघका उपमहासचिव नारायण सापकोटाले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।
यसैगरी, दक्षिणकाली नगरपालिकाका अधिकारीहरुले कोषका पदाधिकारीहरुलाई दक्षिणकाली मन्दिर भ्रमणको निमन्त्रणा समेत दिएका थिए । उनीहरुले हिजो साँझै पशुपतिनाथ मन्दिरको समेत दर्शन गरेका थिए ।
सापकोटाले काठमाडौं महानगरपालिका र दक्षिणकाली नगरपालिकामा अवस्थित दुई प्राचीन मन्दिरबीच बहुआयामिक सम्बन्ध स्थापनाको प्रवल सम्भावना रहेको बताउनुभयो । दुई पवित्र आराध्य देवस्थलबीच धार्मिक, सांस्कृतिक, ऐतिहासिकसँगै पर्यटकीय सम्बन्ध स्थापित गर्न सकिने प्रशस्त सम्भावना रहेको कोष तथा नगरपालिकाका अधिकारीहरुको धारणा रहेको सापकोटाले बताउनुभयो ।
२४० हेक्टर जग्गामा फैलिएको पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। सन् १९७९मा युनेस्कोले पशुपतिनाथ मन्दिरलाई सांस्कृतिक सम्पदा अन्तर्गत विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालयका रुपमा रहेको छ ।
शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि छन्। पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।
यसैगरी, ऐतिहासिक महत्व बोकेको सांस्कृतिक सम्पदाले भरिपूर्ण संस्कृतिको अनुपम नमूना मानिन्छ दक्षिणकाली नगरपालिकालाई । जैविक विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको साझा बसोबास रहेको नगरपालिकाको आभूषणको रुपमा रहेको छ दक्षिणकाली मन्दिर ।
काठमाडौँबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको दक्षिणकाली मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको कालीदेवीको मन्दिर हो। उक्त मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com