Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

पशुपति सेवा दल गठन गर्न आवश्यक छ: सदस्य सचिव तीर्थप्रसाद श्रेष्ठ

पशुपति सेवा दल गठन गर्न आवश्यक छ: सदस्य सचिव तीर्थप्रसाद श्रेष्ठ

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थप्रसाद श्रेष्ठले पशुपति सेवा दल गठन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । पशुपति क्षेत्रको सर्वाङ्गीण विकासका लागि समाजका सबै क्षेत्रका व्यक्तिहरुको सहभागितामा यस्तो स्वयंसेवी दल निर्माणको आवश्यक रहेको उहाँले बताउनुभएको हो । पशुपति क्षेत्र विकासका लागि कोष एक्लैले सबै चिज गर्न नसक्ने भएकाले एउटा पशुपति सेवा दल आवश्यक भएको उहाँको ठम्याइ थियो ।  

योगमाया स्मृति दिवसको अवसरमा बेलायतमा अध्ययन गरी फर्केकाहरुको संस्था एबानले २०८३ साउन ९ गते शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि सदस्य सचिव श्रेष्ठले भन्नुभयो, ‘कता कता मनमा एउटा चिज लागेको छ, पशुपति सबैको साझा हो त्यसैले सबैको साझा स्वामित्वको अनुभूति हुने गरी यसलाई अघि बढाउने हो भने एउटा सेवा दल गठन गर्न आवश्यक छ । त्यहाँ झाडु लगाउनेदेखि इन्जिनियिरिङका कुरा गर्ने, पानीले बगैचा सिंचाई गर्नेदेखि स्वास्थ्यकर्मी तथा चिकित्सकहरुसम्म, पूर्व न्यायाधिशहरुदेखि समाजका विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता होस् ।’

उहाँले आफ्नो नियुक्तिसँगै अब पशुपतिको मुहार फेरिने वा समृद्ध भइहाल्ने नभएको र त्यो समृद्धि कोष एक्लैको बुताबाट मात्र पनि सम्भव नुहने भन्दै पशुपतिको बारेमा चिन्तन गर्ने र त्याग गर्न सक्नेहरुको साझा जमात आवश्यक भएकोमा जोड दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘कोषले वर्षको एकपटक आफैले स्वास्थ्य शिविर राखौं भन्दा डाक्टरहरु अभाव नहोस्, विकास योजना बनाउँदा इन्जिनियरहरुको अभाव नहोस् । सधै वैतनिकहरुबाटै काम चल्छ भन्ने विश्वासमा म छैन, अवैतनिकहरुले झन बढी समर्पणका साथ सेवा गर्न सक्छन् । पशुपति सेवा दलमार्फत पशुपतिको विकासमा राष्ट्रका सबै अंगका प्रबुद्ध व्यक्तिहरु सहभागिता खोजेका छौं । म भोलिका दिनमा तपाईंहरुबाट पनि सहयोग अपेक्षा गर्दछु ।’

२०८३ साउन ७ गते बिहिबार धार्मिक सांस्कृतिक पत्रकार समाज (रेक्जोन) सँगको भेटमा पनि सदस्य सचिव श्रेष्ठले पशुपति क्षेत्रलाई अझ विकास गर्न पशुपति सेवा दल निर्माणको परिकल्पना सुनाउनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘त्यो सेवा दलमा सेवा निवृत्त न्यायाधीश, निजामती कर्मचारी, विविध क्षेत्रका विज्ञहरु, पूर्व सैनिक तथा प्रहरीहरु आदि सदस्य बन्न सक्ने छन् । सबै विषयका ज्ञाताहरु त्यसमा आवद्ध हुँदा पशुपतिलाई आवश्यक हरतरहको सहयोग र विकास गर्न सकिन्छ  । सेवा आवश्यक पर्दा उहाँहरुबाट लिन सकिन्छ ।’

पशुपतिका यावत् समस्या समाधानमा त्यो दल उपयोगी बन्नसक्ने भन्दै सदस्य सचिव श्रेष्ठले सम्भावना देखाउनुभएको थियो, ‘पशुपतिको सेवामा हरतरहले समर्पित तिनै व्यक्तिहरुमध्येबाटै कोषमा सदस्य सचिव तथा सदस्यहरु नियुक्त हुनसक्ने पनि अवस्था आउनसक्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार