Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

११ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन सम्पन्न

११ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन ११ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा ललितपुरमा आयोजना गरेको दुई दिने सम्मेलन आज सम्पन्न भएको हो ।

महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा उपाध्यक्ष खेम बहादुर पाठकले ११ बुँदे घोषणापत्र वाचन गरेर सुनाएका हुन् । कार्यक्रममा महासंघको पूर्व अध्यक्षद्वय केशव प्रसाद बडाल र मिनराज कडेलको समेत उपस्थिति रहेको थियो । साथै, संघीय सहकारी विभागका रजिष्ट्रार बाबुराम गौतम र राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य डा. बिमला पौडेलको आतिथ्य रहेको थियो ।

सम्मेलनमा स्वदेश तथा विदेशका महिला सहकारी अभियानकर्मी, सरकारी निकाय, विभिन्न संघ/संस्थाका प्रतिनिधि, विकास साझेदार, महिला उद्यमी र अनुसन्धानकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

सहभागीहरुले घोषणापत्रमार्फत सहकारी क्षेत्रमा लैंगिक उत्तरदायी नीति निर्माण गर्ने, महिला सशक्तीकरण गर्ने र लैंगिक समानता कायम गर्दै दिगो विकास हासिल गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । घोषणापत्रमा सहकारीका उच्च व्यवस्थापकीय तह र समितिहरुमा महिलाको निर्णायक भूमिका सुनिश्चित गर्न नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस्तै दिगो कृषि र खाद्य सुरक्षाका लागि महिला किसानहरुको भूमि, प्राकृतिक स्रोत र उत्पादनका साधनमा कानुनी तथा व्यावहारिक स्वामित्व स्थापित गर्न पैरवी गर्ने निर्णय सम्मेलनले गरेको छ । महिला उद्यमीहरुको दक्षता बढाउन स्थानीय तहसम्म डिजिटल कारोबार र उन्नत वित्तीय साक्षरताका कार्यक्रम लैजाने तथा युवा सहभागिता बढाउन विशेष जोड दिइने घोषणापत्रमा उल्लेख छ ।

यसैगरी, सहकारीद्वारा उत्पादित सामग्रीको गुणस्तर वृद्धि, ब्रान्डिङ र प्याकेजिङ गरी अन्तर्राष्ट्रिय बजार श्रृङ्खलामा सिधा पहुँच पुर्याउन सरकारी–सहकारी–निजी साझेदारी मोडललाई प्रवद्र्धन गरिने उल्लेख छ । राज्यका तीनै तहका सरकार र सहकारी संस्थाहरुका योजनालाई लैंगिक उत्तरदायी बनाउँदै महिला लक्षित कार्यक्रममा विशेष बजेट ल्याउन वकालत गर्ने सहभागीहरुले वचनवद्धता गरेका छन् । त्यसैगरी जलवायु परिवर्तनको मारमा परेका महिला किसानको उत्थानशीलताका लागि पर्यावरणमैत्री र प्राङ्गारिक खेती प्रणालीलाई प्रोत्साहन गरिने प्रतिबद्धता पत्रमा समेटिएको छ।  

महिलाहरुको परम्परागत सीपलाई आधुनिक व्यवसायमा रुपान्तरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसंग समन्वय गरेर विशिष्टीकृत तालिम दिने र उनीहरुको सामाजिक सुरक्षा, प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्यको अधिकार रक्षाका लागि एकीकृत रुपमा अघि बढ्ने घोषणा गरिएको छ। संयुक्त राष्ट्र संघले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला किसान वर्ष घोषणा गरेको सन्दर्भमा यो सम्मेलनले विश्वभरका महिला किसान र सहकारीकर्मीहरूबीच प्रविधि र ज्ञान हस्तान्तरणका लागि सहकार्य सबल बनाउने संकल्प गरेको छ ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकार र विकास साझेदारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाइएको छ । घोषणापत्रमार्फत हाल सहकारी क्षेत्रमा देखिएका समस्याहरू प्रति पनि गम्भीर चासो व्यक्त गरिएको छ। समस्याग्रस्त सहकारीहरुबाट सर्वसाधारण सदस्यहरूको बचत सुरक्षित रुपमा फिर्ता पाउनुपर्ने र ऋण असुलीका लागि सरोकारवालाहरुले तदारुकता देखाउनुपर्ने जोडदार माग गरिएको छ ।

यसैगरी अन्त्यमा महिला उद्यमीका उत्पादनहरुको प्रशोधन, बजारीकरण र उपभोगमा प्राथमिकता दिँदै तीनै तहका सरकार समक्ष न्यून कर र अनुदान उपलब्ध गराउन विशेष पहल गर्ने निर्णयका साथ सम्मेलन समापन भएको छ । महासंघले सहकारी क्षेत्रमा संलग्न महिला किसानहरुको योगदान र प्रभावलाई उजागर गर्ने मूल उद्देश्यले असार ६ र ७ गते ‘नेतृत्वमा नारी : समृद्धिमा सहकारी’ भन्ने नारासहित सम्मेलन आयोजना गरेको हो ।

काठमाडौं घोषणा पत्र २०२६

१. सहकारी संघ/संस्थाका समिति/उपसमिति र उच्च व्यवस्थापकीय नेतृत्वमा महिलाको अर्थपूर्ण र निर्णायक सहभागिता सुनिश्चित गर्न नीतिगत र व्यावहारिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

२. दीगो कृषि र खाद्य सुरक्षाका लागि महिला किसानहरूको भूमि, प्राकृतिक स्रोत, र उत्पादनका साधनहरूमा कानुनी तथा व्यावहारिक स्वामित्व र पहुँच स्थापित गर्न आवश्यक नीतिगत पैरवी गर्नेछौं ।

३. महिला नेतृत्वका सहकारी र महिला उद्यमीहरूको व्यावसायिक दक्षता बढाउन आधुनिक प्रविधि, डिजिटल कारोवार, र उन्नत वित्तीय साक्षरता कार्यक्रमहरूलाई स्थानीय तहसम्म सञ्चालन गर्नेछौँ । साथै युवा सहभागितामा विशेष जोड दिनेछौं ।

४. सहकारीद्वारा उत्पादित सामग्रीहरूको गुणस्तर वृद्धि, ब्रान्डिङ, र व्यावसायिक प्याकेजिङ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार श्रृंखला (Value Chain) मा सिधा पहुँच पुयाउन “सरकारी–सहकारी–निजी साझेदारी“ लाई प्रवद्र्धन गर्नेछौं ।

५. राज्यका तीनै तहका सरकार तथा सहकारी संघ÷संस्थाहरूमा निर्माण हुने नीति, नियम, र वार्षिक योजनाहरूलाई लैंगिक उत्तरदायी बनाउन र महिला लक्षित कार्यक्रमहरूमा विशेष बजेट विनियोजन गराउन वकालत गर्नेछौं ।

६. जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेका महिला किसानहरूको उत्थानशीलता (Resilience) बढाउन सहकारीमार्फत पर्यावरण–मैत्री, प्राङ्गारिक (Organic) खेती र जलवायु अनुकूलन कृषि प्रविधिलाई प्रोत्साहन गर्नेछौं ।

७. परम्परागत सीपलाई आधुनिक व्यवसायमा रूपान्तरण गर्न महिलाहरूका लागि निरन्तर प्राविधिक व्यवस्थापकीय, र उद्यमशीलता विकास सम्बन्धी विशिष्टीकृत तालिमहरू राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरुसँग समन्वय गरी सञ्चालन गर्न पहल गर्नेछौं ।

८. महिला सहकारी सदस्यहरूको आर्थिक उन्नतिका साथै सामाजिक सुरक्षा, प्रजनन स्वास्थ्य, पोषण, र मानसिक स्वास्थ्यको अधिकार रक्षाका लागि सचेतनामूलक तथा प्रवद्र्धनात्मक कार्यक्रमहरू एकीकृत रूपमा अघि बढाउनेछौँ ।

९. संयुक्त राष्ट्र संघले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला किसान वर्ष घोषणा गरेको सन्दर्भमा विश्वभरका महिला किसान र सहकारीकर्मीहरूबीच कार्यगत एकता सुदृढ गर्न प्रविधि र ज्ञान हस्तान्तरणका लागि एक आपस वीचको सहकार्यलाई सबल बनाउने छौं । साथै दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको योगदानलाई वृद्धि गर्न सरकार र विकास साझेदार संस्थाहरूसँग सहकार्य गर्न प्रतिवद्ध छौं ।

१०. समस्याग्रस्त सहकारी संस्थाहरुबाट सदस्यले पाउनुपर्ने वचतको सुनिश्चितता र संघ संस्थाले प्रवाह गरेको ऋण असुली लगायतका समस्या समाधाननार्थ सरोकारवालाहरुसँग जोडदार माग गर्दछौं ।

११. सहकारी तथा महिला उद्यमीहरूका उत्पादनको औद्योगिक प्रशोधन, बजारीकरण र उपभोगमा प्राथमिकता दिन तथा न्यून कर एवं अनुदान उपलब्ध गराउन तीनै तहका सरकार समक्ष विशेष पहल गर्दछौं ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार