काठमाडौं । नेपाललाई वैदिक प्राङ्गारिक कृषि पद्धतिको केन्द्र बनाउनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । नेपाल महर्षि वैदिक फाउन्डेसनले आज आयोजना गरेको ‘वैदिक प्राङ्गारिक कृषि राष्ट्रिय सम्मेलन’ मा यस क्षेत्रका विज्ञले वैदिक कृषि पद्धतिबाट उत्पादित खाद्य पदार्थको पौष्टिक गुणस्तरका साथै बाली, माटो र वातावरणसँग कृषकको सम्बन्ध अझै सुदृढ हुने भएकाले यसलाई नेपालमा प्रवर्धन गर्नुपर्ने धारणा राखेका हुन् । वैदिक प्राङ्गारिक कृषिप्रति विश्वव्यापी आकर्षण बढिरहेको भन्दै नेपाललाई पनि यसको केन्द्र बनाउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
लामो समयदेखि वैदिक कृषि खेती गर्दै आएको फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले भन्नुभयो, ‘वैदिक कृषिलाई संस्थागत गराउने प्रयास अब फाउन्डेशनले गर्नेछ । त्यसका लागि हामी सरकारसँग पनि मिलेर काम गर्न तयार छौं हामीसँग वैज्ञानिकहरु छन्, टेक्नोलोजी र टेक्निकको अभाव छैन ।’ उहाँले अमेरिकाका सबै राज्यले छुट्टाछुट्टै ऐन बनाएर वैदिक प्राङ्गारिक कृषि पद्धति अघि बढाएको जानकारी दिनुभयो ।
नेपालमा पाँच दशक अघिसम्म वैदिक प्राङ्गारिक कृषि हुने गरेकामा क्रमशः रासायनिक मलका साथै विभिन्न प्रकारका विषादीको आगमनले माटो बिग्रिएर स्वच्छ उत्पादन नहुने अवस्था आएको उहाँले सुनाउनुभयो । आधुनिक प्रविधिसहित वैदिक एवं प्राङ्गारिक खेतीमा नेपालका सबै किसानलाई आबद्ध गराउने अभियान स्वरुप फाउन्डेसनले एक दिने सम्मेलन गरेको र यसलाई निरन्तरता दिइने उहाँको प्रतिबद्धता थियो ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा हरिबहादुर केसीले कृषिमा विषादी हाम्रै पालामा सुरु भएकाले हामीले नै यसलाई सच्याउनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा लाग्ने कीरा मार्न जुकाको प्रयोग गर्ने विधि पनि रहेको उल्लेख गर्नुहुँदै उहाँले त्यस विषयमा आफूले विद्यावारिधि शोधसमेत गरेकाले यस्ता मौलिक विधिलाई विषादीका विकल्पका रुपमा उपयोग गरिनुपर्नेमा जोड दिनुभयो ।
कृषिमा विषादीको विकल्पमा प्रयोग गरिने जैविक विधिका विषयमा नीति निर्माण गर्ने कामममा पनि मन्त्रालय लागिपरेको योजना महाशाखा प्रमुख समेत रहनुभएका सहसचिव केसीले बताउनुभयो । उपभोक्ता सचेत हुँदै गएकाले विषादीका ठाउँमा जैविक विषादी पनि प्रयोग गर्नुपर्नेमा पनि उहाँको जोड छ ।
धेरैलाई वैदिक कृषि पुरातन विधि हो र यो अहिलेको प्राङ्गारिक विधि भन्दा बिल्कुल फरक छ भन्ने लाग्न सक्छ । तर त्यसो होइन महर्षि वैदिक कृषिका निर्देशक भूपेन्द्र खनिया निराजन । यो प्राङ्गारिक विधिमा अरु थप केही हाम्रा परम्परागत अभ्यास समावेश गरिने विधि हो ।
'वैदिक प्राङ्गारिक’ हुन पहिले प्राङ्गारिक हुनु पर्दछ । यसकारण महर्षि वैदिक प्राङ्गारिक खेतीलाई ’प्राङ्गारिक भन्दा माथि’ मानिन्छ । महर्षि वैदिक कृषिले खासगरी कृषकको चेतना, खाना, शरीर र वातावरणबिचको घनिष्ट सम्बन्ध स्थापित गर्दछ । कृषकको चेतनाको स्तरले खाद्य वस्तुको गुणस्तर निर्धारण गर्दछ । खानाको गुणस्तरले हाम्रो मन र शरीरलाई प्रभाव पार्दछ । हाम्रो मन र शरीरको स्वास्थ्य नै व्यवहारमा झल्कने हो । यसकारण वैदिक कृषिमा कृषक, बाली र प्रकृतिबीच एक अर्कालाई स्वाभाविक रुपमा बुझ्न सहकार्य र सन्तुलन कायम गरिन्छ ।
रासायनिक खेतीलाई परिवर्तन गरेर वैदिक खेती गर्ने हो भने प्राङ्गारिकका सबै प्रकृयाका साथसाथै वैदिक कृषिका पनि प्रविधि संलग्न गर्नुपर्ने उहाँको भनाइ छ । वैदिक प्राङ्गारिक खेती र यसको प्रमाणिकरणका लागि निम्न अनुसारको विधि अपनाउनु पर्दछ ।
वैदिक कृषिको अभ्यासमा परिवारको जीवनस्तर धान्ने गरी कृषकलाई उचित मूल्य; उत्पादनको गुणस्तर जाँच; बाली भित्र्याउने, सामान्य प्रशोधन गर्ने, भकारीमा राख्ने; घर पालुवा जनावरको व्यवस्थापन र जनावरको अधिकार; उत्पादनको भण्डारण, प्रशोधन, ह्यान्डलिंग र लेबलिंग; दिगो, पर्यावरणीय, र ऊर्जा संरक्षणयुक्त कृषि प्रविधिको उपयोग; महर्षि स्थापत्य (स्थान वेद), महर्षि वैदिक स्वास्थ्य (आयुर्वेद) विधि प्रयोग र चेतना–आधारित शिक्षाको प्रयोग आदिको सुनिश्चित गरिएको हुन्छ ।
महर्षि वैदिक कृषिले कृषक, परिवार, समाज, वातावरण र मातृभूमि सबै प्राथमिक हितग्राही हुनुपर्छ भन्ने मान्यता राख्दछ । जीवनका चार वैदिक उद्देश्यहरू धर्म (उपयुक्त पेशा जसले जीवनलाई सर्वोच्च स्थानमा कायम राख्छ); अर्थ (सम्पन्नता); काम (कृषक र उसको परिवारको लागि इच्छाको पूर्ति) र मोक्ष (जीवनमा सर्वोच्च आदर्शहरूको पूर्ति र व्यक्तिगत विकासको उच्च उपलब्धि) कृषकले आफ्नै पौरखले सम्पन्न गर्न पाउनु पर्छ । कृषि पेशा अपनाई सकेपछि यसबाटै जीवन सम्पन्न हुनुपर्छ भन्ने महर्षि वैदिक कृषिको मान्यता हो ।
तथ्याङ्क अनुसार नेपालमा ६६% जनसङ्ख्या कृषिमा आधारित छन् । यति धेरै कृषक हुँदा पनि विदेशबाट किनेर नल्याउने हो भने नेपालीलाई खान पुग्दैन । यसमा धेरै कारण छन् । ती मध्ये पहिलो कृषि पेशालाई सम्मानजनक पेशा बनाउन नसक्नु । दोस्रो युवा पुस्ताको पलायनका साथसाथै आधुनिक कृषिका नाउँमा विउविजन, मल, किटनाशक रसायनका लागि परनिर्भर हुँदै जाँदा स्थानीय कृषि उत्पादन र प्रशोधन महङ्गो हुँदै जानु, खेतीप्रति कृषकको वितृष्णा बढ्दै जानु आदि पनि यसका कारण भएको वैदिक कृषिका निर्देशक खनियाँले बताउनुभयो ।
रासायनिक खेती र प्राङ्गारिक खेती मध्ये कुन चाहिँ विधि उपयुक्त छ भनेर सबैका आ–आफ्नै तर्क छन् । तर अध्ययन–अनुसन्धानले देखाए अनुसार माटो, वातावरण र मानव स्वास्थ्यका लागि घातकसिद्ध भएको रासायनिक विधिभन्दा उपलब्ध प्रविधिको सुबिधा उपयोग गरी स्थानीय स्रोत, साधन, ज्ञान अभ्यासमा आधारित प्राङ्गारिक विधि नै उपयुक्त भएको निष्कर्ष वैज्ञानिक अनुसन्धानले पनि पुष्टि गरिसकेको उहाँले सुनाउनुभयो । कार्यक्रममा फाउन्डेसनले प्रकाशन गरेको 'वैदिक कृषि' नामक पुस्तक लोकार्पण पनि गरिएको थियो । पुस्तक निर्देशक भूपेन्द्र नीराजन खनियाले लेख्नुभएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com