Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
सन्दर्भः लीडरशीप बुटक्याम्प तालिमको बुझाइ

सहकारीमा नेतृत्व रुपान्तरण: सेवक बन्नसक्नु पर्छ

सहकारीमा नेतृत्व रुपान्तरण: सेवक बन्नसक्नु पर्छ

जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न निरन्तर सिकाइ र तिनको व्यावहारिक प्रयोग अपरिहार्य छ । सिकाइ व्यवहारमा परिणत भएमात्र सफलता सम्भव हुन्छ । सिकाइमा कहिले पनि पूर्णविराम लाग्दैन । यो निरन्तर चलिरहने प्रक्रिया हो । यसै सन्दर्भमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोगमा बुडोल सामुदायिक साकोसले नेतृत्व तहमा रहेका आफ्ना सञ्चालकहरू, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरु र व्यवस्थापनमा रहेको नेतृत्वतहका कर्मचारीहरुलाई लक्षित गरी लिडरशीप बुटक्याम्प कार्यक्रम २०८१ साल पौष १८, १९ र २० गते भक्तपुरको नगरकोटमा सम्पन्न गरेको थियो । सो प्रशिक्षण कार्यक्रमबाट नेतृत्व विकासमा सकारात्मक प्रभाव पर्ने तथ्य सुनिश्चित भएकोले यस वर्ष अर्थात २०८२ साल चैत्र ६ र ७ गते काभ्रेपलाञ्चोक जिल्लाको बल्थलीमा लिडरशीप बुटक्याम्पको पुनर्ताजगी कार्यक्रम आयोजना भयो । 

विश्वप्रसिद्ध लेखक John C. Maxwell को वर्तमान समयको विश्व विख्यात पुस्तक Leader shift मा आधारित भएर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)को प्राविधिक सहयोगमा सञ्चालित यो प्रशिक्षण कार्यक्रममा पुस्तक भित्रका महत्वपूर्ण सन्देशहरुलाई व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन सहजकर्ताद्वय प्राचार्य श्री बल्लभ तिमल्सिना र वरिष्ठ अधिकृत श्री प्रेमनाथ वाग्लेले प्रशिक्षार्थीहरुलाई सहजीकरण गर्दै उत्प्रेरित गर्नभएको थियो । यो पुस्तकको मुख्य सन्देश सरल तर गहिरो रहेछ । आजको बदलिदो संसारमा सफल नेता बन्न चाहनु हुन्छ भने तपाईंले आफै परिवर्तन हुन सक्नु पर्छ । संसार गतिशील छ । यो दिनप्रतिदिन बदलिइ रहन्छ । नेता पनि समय सँगै बदलिन सक्नुपर्छ । पुरानो शैलीको स्थिर नेतृत्व अब काम लाग्दैन । सफल नेता बन्न लचकता (adaptability) र निरन्तर परिवर्तनको आवश्यकता छ । Leader Shift भनेको नेतृत्व शैलीमा आवश्यक रुपान्तरण गर्न सक्ने क्षमताको विकास गर्नु रहेछ । यसले व्यक्तिको मात्र होइन संस्थागत विकासमा पनि प्रत्यक्ष प्रभाव पार्दो रहेछ ।

पुस्तकका प्रमुख सन्देशहरुः
१. म बाट हामी तर्फ (Soloist to Conductor):
व्यक्तिगत सोचबाट सामूहिक भावना तर्फ उन्मुख भई सहकार्य, सहअस्तित्व र साझा उत्तरदायित्व विकास गर्ने प्रक्रिया ।

२. लक्ष्य देखि विकास तर्फ (Goals to Growth):
केवल लक्ष्य हासिलमा सीमित नभई दीर्घकालीन क्षमता, सीप र समग्र प्रगतिमा ध्यान केन्द्रित गर्ने सोच ।

३. लाभ देखि मूल्यतर्फ (Perks to Price)
आर्थिक फाइदाभन्दा सामाजिक, नैतिक र दीर्घकालीन मूल्य सिर्जनालाई प्राथमिकता दिने व्यवहारिक परिवर्तन ।

४. खुसी देखी चुनौती तर्फ (Pleasing to Challenging)
सजिलो र आरामदायी अवस्थाबाट बाहिर निस्केर चुनौती स्वीकार्दै सिकाइ र आत्मविकास गर्ने दृष्टिकोण ।

५. कायम गर्ने देखि सिर्जना गर्ने तर्फ (Maintaining to Creating)
विद्यमान अवस्थालाई जोगाउनुभन्दा नयाँ विचार, नवप्रवर्तन र सिर्जनशीलता मार्फत परिवर्तन ल्याउने प्रयास ।

६. सिढि चढाईदेखि सिढि नर्माणतर्फ (Ladder climbing to Ladder Building)
व्यक्तिगत उन्नतिभन्दा अरूका लागि अवसर सिर्जना गर्दै सामूहिक प्रगतिको आधार निर्माण गर्ने सोच ।

७. निर्देशन देखि संयोजनतर्फ (Directing to connecting)
एकतर्फी आदेशभन्दा सहकार्य, समन्वय र सहभागितामूलक निर्णय प्रक्रियामा जोड दिने नेतृत्व शैली ।

८. एकरुपता देखी विविधतातर्फ (Team Uniformity to Team Diversity)
एकै किसिमको सोचभन्दा फरक विचार, अनुभव र पृष्ठभूमिको सम्मान गर्दै समावेशी वातावरण निर्माण गर्ने अभ्यास ।

९. व्यक्तिगत अधिकार देखि नैतिक अधिकारतर्फ (Personal Authority to Moral Authority)
स्वार्थपूर्ण अधिकारभन्दा न्याय, इमानदारी र नैतिकताको आधारमा निर्णय र व्यवहार गर्ने बानी विकास ।

१०. तालिम देखि परिवर्तनशील तर्फ (Trained Leader to Transformational Leaders)
केवल ज्ञान प्राप्तिमा सीमित नभई व्यवहार, सोच र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य ।

११. पेशा देखि प्रेम परिवर्तनतर्फ (Career to Calling)
कामलाई केवल जीविकोपार्जन नभई रुचि, समर्पण र आत्मसन्तुष्टिको स्रोतका रूपमा लिने दृष्टिकोण ।

यो पुस्तकले दिएका सन्देशहरु सहकारी क्षेत्रको लागि अत्यन्त उपयोगी छन् । हाम्रो देशमा सञ्चालित अधिकांश सहकारीमा देखिने समस्या भनेकै नेतृत्वमा अध्यक्ष वा व्यवस्थापक हावी हुने, निर्णय गर्दा पनि उनीहरुलाई नै केन्द्रमा राख्ने, सदस्यहरुको भूमिका कमजोर रहने उनीहरुलाई निर्णय प्रक्रियामा सहभागी नगराइने, गराइए पनि दिइएका सुझाव सल्लाहलाई वेवास्ता गरिने जस्ता विकृतिहरु मौलाइ रहेको पाइन्छ ।

सहकारीको मूल्य मान्यतालाई आत्मसात गर्दै नेतृत्वले हरेक निर्णयमा सदस्यको सहभागिता बढाउने अभ्यास गर्दै जानु पर्छ । नीति, कार्यविधि बनाउदा सदस्य सँग प्रचुर मात्रामा छलफल गर्ने, वार्षिक बजेट तथा योजना बनाउदा सदस्यहरुको माझमा छलफल गराई बनाउने लागु गर्ने प्रक्रियाको थालनी गर्नु पर्छ ।

समुदायमा आधारित सदस्य केन्द्रित सहकारीको ध्यान “कति नाफा कमाउने” भन्ने कुरामा मात्र नअल्मलिई सदस्य, समुदायको हित र सदस्यको सशक्तिकरण तर्फ केन्द्रित हुनुपर्छ । वित्तीय साक्षरता बढाउने, सहकारी शिक्षा, तालिम, प्रशिक्षण नियमित सञ्चालन गर्ने, बचत गर्ने बानी र तरिका बारे र व्यवसाय विकास तालिम सञ्चालन गरी सदस्यहरुलाई उद्यमी र व्यवसायी बन्ने तर्फ उत्प्रेरित गर्दै सहुलितपूर्ण ऋण सुविधाको प्रत्याभूति दिनुपर्दछ ।

नेतृत्वले पदको मादमा अहंकार देखाएर संस्थाको हिसाब किताब गुपचुप राख्ने, एक्लै सुटुक्क गरेको निर्णय लागु गर्न खाज्ने जस्ता विकृतिजन्य समस्याहरु पनि कतिपय सहकारीमा देखिएका छन् । नेतृत्वले सदस्यको विश्वास आर्जन गर्नको लागि संस्थाको वित्तीय विवरण खुल्ला र पारदर्शीरुपमा प्रकाशित गर्नुको साथै नियमित प्रतिवेदनहरु सार्वजनिक गर्नु पर्दछ । वार्षिक साधारण सभामा स्पष्ट विवरण प्रस्तुत गर्नुपर्दछ र बढीभन्दा बढी सदस्यको सुझाव सल्लाहलाई समेत मध्यनजर गरी आगामी नीति र योजना तर्जुमा गर्नु पर्दछ । नेतृत्वको आदेशबाट मात्र सहकारी सञ्चालन गर्ने पुरानो परीपाटीको अन्त्य गरी सदस्यसँग नियमित अन्तरक्रिया गर्ने, पृष्ठपोषण (Feedback) लिने, सदस्य सुनवाइ कार्यक्रम (member hearing session) सञ्चालनमा ल्याई सदस्य नै संस्थाको वास्तविक मालिक हो भन्ने अनुभूति दिनु पर्दछ । यसको लागि नेतृत्वले आफूलाई मालिक जस्तो व्यवहारको अपेक्षा त्यागी नेताले आफूलाई सेवा गर्ने व्यक्ति (servant leader) मा रुपान्तरण गर्न सक्नुपर्छ ।

जोखिम लिन तयार हुनुपर्छः
यथास्थितिमा रहेर अब सेवाको गुणस्तर बढ्नेवाला छैन । विज्ञान र प्रविधिले विकास गरेका नवीनतम् अवधारणाहरुलाई अभ्यासमा ल्याउन अब ढिलो गर्नु हुदैन । नयाँ सेवा शुरु गर्न नेतृत्व आफै पनि तयार हुनु पर्छ । यसको बारे प्रविधिको साक्षरता अति आवश्यक छ । डिजिटल लेखा प्रणाली अपनाइसकेको वर्तमान अवस्थामा मोबाइल बैकिङ, क्यूआर मर्चेन्टको बारेमा समेत अध्यावधिक भई रहनुपर्दछ ।

आफूमात्र नेतृत्वमा टासीइ रहने होइन नयाँलाई पनि नेतृत्वको मौका दिने । युवा पुस्तालाई सहकारी तर्फ आकर्षण बढाउने युवा मैत्री वित्तीय कारोवार बढाउदै लैजाने नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण योजना बनाउने ।अन्ततः नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कार्यक्रमहरु चरणबद्धरुपमा रुपमा लागू गर्नु पर्दछ ।

यो सिकाइ मेरो व्यक्तिगत जीवनमा अत्यन्तै महत्वपूर्ण रहनेछ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु । John C. Maxwel को “Leadershift” पुस्तकबाट लिइएका यस्ता गहिरा र व्यवहारिक ज्ञानलाई सरल, प्रभावकारी र जीवनमै उतार्न मिल्ने शैलीमा प्रशिक्षण प्रदान गर्नुहुने प्रशिक्षकद्वय बल्लब तिमल्सिना र प्रेमनाथ वागले प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

यस मूल्यवान अवसर प्रदान गर्नुहुने नेफ्स्कुन प्रति विशेष धन्यवाद ज्ञापन गर्दछु । साथै, कार्यक्रमलाई सफल बनाउन व्यवस्थापनदेखि पुनर्ताजगीसम्म उत्कृष्ट समन्वय गर्नुहुने संस्थाका सम्पूर्ण व्यवस्थापन टोलीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । धन्यवाद । जय सहकारी ! जय बुसा !

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार