Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

विदेशीएका श्रमिकका लागि सरकारले थप स्वास्थ्य कार्यक्रम ल्याउँछ: मन्त्री पौडेल

विदेशीएका श्रमिकका लागि सरकारले थप स्वास्थ्य कार्यक्रम ल्याउँछ: मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विदेशीन बाध्य श्रमिकको स्वास्थ्य समस्यामा समाधानका लागि केही कार्यक्रम ल्याइने बताउनुभएको छ । युएईमा सम्पन्न नेपाल फेष्टिभल २०२५ को उद्घाटन गर्दै मन्त्री पौडेलले देश फर्कँदा पनि स्वस्थ भएर फर्काउन कसरी सकिन्छ भन्नेमा काम गरिरहेको बताउनुभयो ।

मन्त्री पौडेलले विदेशमै रहँदा पनि टेलिमेडिसिनमार्फत नागरिकले स्वास्थ्य लाभ लिन सक्ने गरी सरकारले व्यवस्था गरेको भन्दै विदेशिने क्रममा तिर्नुपर्ने महँगो स्वास्थ्य परीक्षण सरकारी अस्पतालमै सुपथ मूल्यमा गराउने गरी गृहकार्य भइरहेको उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले कार्यक्रममा नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएकाले मित्रराष्ट्रका विदेशी नागरिकहरूलाई कम्तिमा पनि एक पटक अवश्य नेपाल भ्रमण गर्न अनुरोध नेपालीसँग आग्रह गर्नुभयो । उहाँले नेपाल र युएईबिच द्विपक्षीय सहयोगका प्रचुर सम्भावनाका क्षेत्रहरू रहेको बताउँदै पर्यटन, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रहरूमा दुईदेशबिच सहकार्य गरी अघि बढ्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक विकास र समृद्धिका लागि युएईमा रहनुभएका सबै नेपालीलाई आह्वान गरे । गैर आवासीय नेपाली संघ, युएईका अध्यक्ष विकास शाहीले कार्यक्रममा ४० हजारको सहभागिता रहेको भन्दै भव्यताका साथ सम्पन्न भएको बताउनुभयो । 

फेस्टिभलमा युएई सरकारका उच्च पदाधिकारीहरू, विदेशी राजदूत तथा कूटनीति नियोगका प्रमुखहरू, विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत विदेशी नागरिकहरू, नेपालका शुभचिन्तकहरू सहभागी रहेको नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार