सन् २०१९ को डिसेम्बर अन्त्यतिर । विश्व कोभिड महामारीको सामना गर्दै थियो । यसबीच, आध्यात्मिक जागरण जागृत गराउने माध्यमको रुपमा युट्युबमा दिव्यपुरी टिभीको जन्म भयो । त्यसमार्फत प्रसारण हुने ‘राजनको जिज्ञासा’ ले आध्यात्मिक र आत्मिक आनन्दका जिज्ञासुहरुलाई बिस्तारै जोड्न थाल्यो । ‘तत्व जान्नुपर्छ, तत्वज्ञान चाहिन्छ’ भन्ने बीज हजुरबुवाले सानैमा मानसपटलमा रोपिदिनुभएका कारण पनि राजनको जिज्ञासाले जन्मने र हुर्कने यथोचित अवसर प्राप्त गर्यो ।
दिव्यपुरीधाम बनाउने पिताजीको पहिलेदेखिको तीब्र इच्छा थियो । इच्छालाई कर्मसँग जोड्दै बेला बेलामा म पनि कार्यक्रमहरुमा पिताजीको सहयोगी भूमिका निर्वाह गर्थेँ । दिव्यपुरीधामलाई थाँती राखी सन् २०२० अगष्ट देखि युट्युबमा ‘राजनको–जिज्ञासा’ मार्फत केही होममेड भिडियो अपलोड गर्यौं । पिताजीको पछि लागी विभिन्न गुरुहरुकोमा गइ भिडियो रेकर्डमा सहयोग गर्दागर्दै आफ्नो पहिलो भिडियो बन्यो । मातापिता, परिवार र परमात्माको आर्शिवाद अनि अनुग्रहले गर्दा करीब ५ वर्ष अघि शुरु भएको–‘राजनको जिज्ञासा’ २०८१ चैत्र अन्तिमसम्म आइपुग्दा करिब ६ सय एपिसोड नजिक पुगेको छ ।
फ्ल्यासब्याकमा फर्कदा
सन् २०१३ तिरको कुरा हो । थानकोटस्थित अरविन्द आश्रममा सन्त अरबिन्द र माँ को प्रेमले तानिएर शिबपुरीबाबाको ध्रुवस्थलीस्थित समाधिस्थल पुग्ने अवसर जुर्यो । त्यो अवसरले अलौकिक आनन्द मिल्यो । लती बनेँ । फुर्सद मिल्ने बित्तिकै धुव्रस्थली हान्निन्थेँ । शास्त्रगत टिका टिप्पणी भन्दा सन्त महात्माहरुको जीवन र सरलताप्रति बिस्तारै मन तानिन थाल्यो । शिवपुरीबाबाबाको स्वधर्म शिक्षाले थाहा नपाइकनै जिज्ञासाहरु उत्पन्न गरायो । बाबाप्रतिको प्रेमले अझ बढी सन्त महात्माहरु तथा साधनाकेन्द्रहरुमा अदृश्य चुम्बकले झैं मन खिचियो । ओशो, रमण महर्षि, जे कृष्णमूति, रामकृष्ण परमहंस, महाबतारबाबा, साईबाबा लगायतका सन्तहरुको जीवन र साधना सम्बन्धी स्वध्ययन र जिज्ञासाले अझ बढी तृष्णा थप्ने काम गर्यो । साधनाकै लागि भक्ति, ध्यानबाट शुरु भई अनन्त ज्ञानको तिर्खालु बनायो । ओम् शान्ति, हरेकृष्ण हरेराम, सिद्ध महायोग, सद्गुरु, रविशंकर लगायतका साधना पद्धतिसँग पनि आफूलाई जोड्न खोजेको थिएँ । तर, शिवपुरीबाबाको शिक्षाले बढी तानिएँ । फलस्वरुप, राजनको जिज्ञासाको पहिलो एपिसोडको जन्म पनि धु्रवस्थलीबाटै भयो ।
शास्त्र, भागवत् र पत्रकारिताको आधारभूत ज्ञानविनै अदृश्य शक्तिको कृपा र सहायताले राजनको जिज्ञासा एउटा माध्यमको रुपमा स्थापित बनेको छ । यो अभिमान होइन वास्तविकता हो । तर, म त्यसको श्रेयको एक्लो हकदार नभइ केवल माध्यम हुँ । यसबीच नेपाल र भारत वर्षका महान् सन्त अवतारी पुरुष र गुरुहरुसँग उठबस, सहकार्य र सत्सङको सानिध्यता मिलेको छ । यी भेटहरुले आफूभित्रका अनेकन आध्यात्मिक जिज्ञासाहरु शनै शनै शान्त हुँदै पनि गएका छन् । अनि कति ज्ञिसाहरु थपिएका पनि छन् । र, यी सबैको कारण बनेको छ ‘राजनको जिज्ञासा ।’ शरीर, मन, आत्मा, चेतना, ईश्वर, भगवान आदि सम्बन्धित विभिन्न अनुभूति र जिज्ञासाहरु साधुसन्तहरुसँग प्रत्यक्ष भेटेर सरल र सटीक ढंगले पस्किने क्रममा आफूभित्रका अनेकन आशंका पनि स्वतः मेटिने क्रम जारी छ । कसैलाई सिकाउने, गुरु बन्ने, शास्त्रगत दम्भ देखाउने भन्दा पनि सहज र सरलतासँग अध्यात्मको सार के रहेछ भन्नेनै मेरो मूख्य ध्येय हो जुन पहिले पनि थियो र अहिले पनि छ । शास्त्रगत टीका टिप्पणी भन्दा पनि स्वयंको जीवन कसरी सरल र आनन्दमय हुन्छ ताकि अरुलाई पनि त्यसको रसास्वादन गराउन सकियोस् भन्ने नै ध्येय बनेको छ ।
सनातन धर्म भित्रका विभिन्न दर्शन र गुरुहरुलाई आधार बनाइ साधनारत ध्यानी, ज्ञानी, तपश्वी साधकहरुसँगको उठबसले यसमा थप उर्जा थप्ने काम गरिरहेको छ । वेद, त्रिपिटक, गीता, पुराण, उपनिषद, बम्हशुत्र लाई अबको पुस्ताले बुझ्न अझ कठिन छ यसलाई कुनै पनि सन्तमहात्माहरुले निर्दिष्ट गरेको शिक्षा पद्दतिलाई आफ्नो जीवनमा लागू गर्दा यसको धेरै प्रभावकारिता हुनेरहेछ । अध्यात्ममा लाग्न चाहने मुमुक्षुहरुलाई शिवपुरीबाबाको स्वधर्म शिक्षा धेरै नै उपयोगी रहेकोछ । तरपनि प्रत्येक व्यक्तिको छुट्टै कर्म, संस्कार, लक्ष्य हुनेभएकोले यो पनि स्व्यंमै निर्भर रहने पक्ष हो ।
‘राजनको जिज्ञासा’ मा पनि शिबपुरीबाबा र बेनेट बिचको संवादलाई ‘रिडिङ वियोन्ड द लाइन्स‘ को माध्यमबाट विश्लेषण र चिन्तन गरी साधकहरुमा प्रस्तुत भएका हुन् । हालका विकृति र विसंगति तिर हेर्न थालियो भने यो जीवन हाम्रो त्यतिकै खेर जानेरहेछ । त्यहि भएर स्व्यंको रुपान्तरण र व्यक्तित्व विकास, परिवारको सुख शान्तिको लागि पनि हामी आफैले नै आफनो अमूल्य जीवनलाई सही दिशा दिनैपर्छ । त्यसको लागि आध्यात्मिक साधनाहरु निकै नै प्रभावकारी हुन्छन् । ‘राजनको जिज्ञासा’ मार्फत व्यक्तिगत साधनाको साथै सामाजिक र पेशागत धर्म निर्वाह गर्न थप उर्जा मिलेको छ ।
लक्ष्यविहिन व्यक्तिलाई ‘राजनको जिज्ञासा’ सँग जोडाउने मात्र होइन आजको दिनसम्म यसैको सहाराले जीवन थप उर्जावान् र क्रियाशिल बनाउने आर्शीवाद परमात्माले प्रदान गर्नुभएको छ । दिव्यपुरीमा आउन नचाहने गुप्त साधकहरुसँगको चर्चा परिचर्चाले पनि थप आध्यात्मिक साधनामा ‘होष्टेमा हैसे’ थप्ने काम गरेको छ । गुप्तसाधकहरु समग्र ब्रम्हाण्ड, सम्पूर्ण जीव जगत्, किट पतंग समग्रताको कल्याण र यो मानवलाई सही मानव बनाउने काममा दत्तचित्त भई लागिरहनुभएकोले उहाँहरुप्रति कृतज्ञता व्यक्त नगरी मन शान्ति पनि हुँदैन ।
भगवान भन्नु हुन्छ ‘तिमी एक कदम चाल म तिमीलाई सय कदम अघि पुर्याँउछु ।’ सायद मेरो जीवनमा पनि यही सार्थकता भइरहेकोछ । स्व्यंको पुरुषार्थ र अध्यामप्रतिको रुचि, चाहना र लक्ष्य केन्द्रित भएकोले जीवन अझ सरल र सहज मार्गमा अघि बढिरहेको छ । जीवनमा आउने जस्तोसुकै कठिनाइहरुलाई पनि सामान्य रुपले सामना गर्न सक्ने सामथ्र्य परमात्मामार्फत प्राप्त भइरहेको छ ।
म स्वभावतः अन्तरह्रदयको बोली सुन्ने व्यक्ति हुँ । त्यसैले भ्युज बढाउने, भाइरल हुने, होडबाजी र प्रतिस्पर्धा गर्ने अनि व्यग्र र अधिर हुने भन्दा पनि अन्तःस्करणले के भन्छ र के गर्दा अरुलाई हानी नगरी आफूलाई आनन्दानुभूति हुन्छ त्यही काम गर्छु । आत्मसन्तुष्टिले अविरल आनन्द मिल्छ पनि । आफू आनन्दित भएर गरेको कामले अरुलाई पनि आनन्दित तुल्याउँछ र त्यसको नतिजा एल्गोरिदम्मार्फत अभिव्यक्त हुन्छ भने त त्यो सुनमा सुगन्ध नै भैहाल्यो । लक्ष्य परमात्मा लिएपछि अरु सबै कुरा समयसँग मिल्ने, जुट्ने, भइरहँदोरहेछ ।
‘राजनको जिज्ञासा’ मेरो भोक र तिर्खाको खोज हो । एउटा सामान्य क्यामेराको सहारामा अत्यन्त अप्राविधिक तवरले प्रायः एक्लै गरिएको 'सोलो भेन्चर' हो । विशुद्ध अन्तर्मनको प्रयास हो । क्यामेरा, कन्सेप्टदेखि एडिटिङ सबै एक्लो प्रयास हो । तर, पनि खुसी छु र सुरुवाती समयभन्दा आफ्नो खुसीमा साथ दिने हजारौं गुना खुसीहरु थपिनुभएको छ । यो गौरव, उर्जा र प्रेरणाको विषय हो । देश विदेशबाट जिज्ञासा, प्रशंसा र प्रेरणा मिलेको छ । यो मेरो निधि हो । मुख्य कुरा, हिजो एनजीओमा ३० हजारको जागिर र सुविधा प्राप्त गर्दा मिलेको भौतिक खुसी भन्दा हजारौं गुना आत्मिक सुख आज मिलेको छ । काम प्रति थप सचेत बन्ने, अझ बढी क्रियाशील हुने र जीवनलाई थप व्यवस्थित गर्ने अभिप्रेरणा मिलेको छ । जसको कारण खल्ती खाली हुँदा पनि मन भरिन्छ । भरिएको महसूस हुन्छ र परिवारजनलाई पनि थोरबहुत त्यो महशुस गराउन शक्ति मिल्छ । यी सबैको एउटै कारण हो–‘राजनको जिज्ञासा’ । अनि, एक मात्र दाजुको व्यावसायिक पत्रकारिता कर्मको प्रथम परिणति ‘धिप्री’ मा यो अनुभव साट्न पाउँदा अर्को आनन्द थपिएको अनुभव गर्दैछु ।
लोकः समस्ताः सुखिनो भवन्तु
राजनको जिज्ञासा ?
Dibyapuri TV (YouTube Channel)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com