Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सहकारीमार्फत वित्तीय साक्षरता

सबै स्तरका मानिसहरूलाई आवश्यक वित्तीय साक्षरता

सबै स्तरका मानिसहरूलाई आवश्यक वित्तीय साक्षरता

सदस्यको सुःख दुःखको सारथी हो, सहकारी । सदस्यहरुमा छरिएर रहेको पूँजीलाई बचत स्वरुप एकीकृत गरी सोही रकम सदस्यहरुमा ऋण स्वरुप परिचालन गरि सदस्यको जीवनस्तर उठान, ब्यवसाय विस्तार, सदस्यहरुको क्षमतामा विकाश, साना उद्योग प्रवद्र्धन, महिला उद्यमशिलता लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ । शेयर सदस्य र सहकारी संस्थासँगको सम्बन्ध एउटा पारिवारिक सम्बन्ध जस्तै नै हो ।

मैले सहकारी क्षेत्रमा काम गर्दै आउँदाको अनुभवले सहकारी साच्चै नै निम्नस्तरका व्यक्तिहरुको वित्तीय मेरुदण्ड नै हो भन्ने निष्कर्षमा पुगेको छु । दिनभर सानो सटर वा ठेलामा ब्यापार गरेर दैनिकी बचत संकलन गरि आफ्नोे ऋणको किस्ता बुझाएका वा भविष्यका निम्ति बचत नै संकलन गरेका अनि विगतका दिनमा सयकढाका दरमा महंगो ब्याज साहुलाई तिर्दै आएका र ब्याज नै तिर्छु भन्दा पनि ऋण नपाएका, त्यस्तै दैनिक ज्यालामा मजदुरी गर्दै आएका, थोरै तलब पाउने निम्न तहका कर्मचारीहरु, मेलापातमा गएर हातमुख जोड्ने कयौं व्यक्तिहरुले सहकारीको आवश्यकता र महत्व अवश्य बुझेका छन् र बुझ्नेछन् पनि । वास्तवमा नै सहकारी यी व्यक्तिहरुको गहिरो घाउको मलम बनेको छ र बन्नेछ पनि । आफुसँग भएको सानो पूँजीमा थप पूँजी स्वरुप सहकारीले प्रदान गरेको ऋणको सही सदुपयोग गरि कुखुरापालन, पशुपालन, माछापालन, ब्यवसायीक कृषि, अटो रिक्सा, मालवहाक साधन, साना उद्यम तथा ब्यवसाय सञ्चालन गरेका अनि छोराछोरीको उच्च शिक्षामा होस्टेमा हैसे गरी संस्थाले साथ दिएर आज सरल र सहज जिवनयापन गरिरहेका ती व्यक्ति र परिवारले सहकारीलाई कहिल्यै बिर्सने छैनन् ।

bittya-sachhrta.jpg
undefined

सहकारी क्षेत्रमा काम गरिरहँदा यस मध्य नेपाल साकोससँगको दैनिकी यात्रा जीवनको एक हिस्सा बनेको छ । मुख्यतयाः कामको सिलसिलामा वित्तीय स्रोतसाधनलाई आफ्नो भलाइको लागि प्रभावकारी रूपमा प्रयोग गर्न वित्तीय ज्ञान नितान्त आवश्यक महशुस भएको छ । सहकारी संस्थाको उच्च पदस्थ व्यक्तिदेखि साधारण सदस्यहरु सबैलाई आवश्यकीय वित्तीय ज्ञान रहेमा, सामान्य सदस्यको हकमा दैनिक जीवनयापन र घरब्यवहार ब्यवस्थापन, व्यवसायी सदस्यहरुको हकमा ब्यवसाय सञ्चालन, नियमितता र जोखिम ब्यवस्थापन, कर्मचारीहरुको हकमा कार्यस्थल भित्र र बाहिर हुने जोखिम, आफ्ना योजना सफलताका आधार साथै दिगो पेशागत जीवनशैली ब्यवस्थापन, त्यसैगरी, सञ्चालकहरुको हकमा संस्थागत वर्तमान अवस्था, वित्तीय एवम् गैरवित्तीय अवस्था, सम्भावना, अवसर तथा चुनौतीको विश्लेषण, जोखिम पहिचान र सही समयमा जोखिम ब्यवस्थापन लगायतका महत्वपूर्ण कार्यात्मक सुधारका लागि सबैलाई वित्तीय ज्ञान हुनु जरुरी देखिन्छ ।

यही आवश्यकतालाई मध्यनजर गरेर सहकारी संस्था सञ्चालनको दौरानमा विशेषतः शेयर सदस्यहरुलाई निरन्तर सहकारी शिक्षा, वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहनु पर्दछ र त्यसलाई योजनावद्ध रुपमा निरन्तरता प्रदान गर्नुपर्दछ । यसको मुख्य उद्देश्य नै अरु बैंक वित्तीय संस्था र सहकारीमा के फरक छ, संस्थाको उद्देश्य, परिकल्पना र ध्येयबारे स्पष्टता, बचत के का लागि गरिन्छ, ऋण के कसरी परिचालन गर्नुपर्दछ, शेयर खरिद के का लागि र यसको फाइदा के, ऋणको भाखा नघाँउदा व्यक्तिगत रुपमा र संस्थागत रुपमा के कस्तो असर पर्छ, संस्थाका गैरवित्तीय कार्यक्रमहरु के–के रहेका छन र ती कार्यक्रममा सहभागिता किन, कस्ता सदस्य असल, कस्ता खराब, असल सदस्य हुन के–के कुरामा ध्यान दिनुपर्दछ, संस्थामा कार्यरत कर्मचारीहरुको सदस्य सेवा र हेरचाहमा गरिने ब्यवहार, सञ्चालकहरुको संस्थागत भूमिका एवम् सामाजिक कार्यसम्पादनबारे जानकारी लगायतका विषय समेटेर सहकारी संस्थाका शेयर सदस्यहरुलाई वित्तीय साक्षर गराई सबल, सक्षम र समृद्ध सदस्य निर्माणका लागि टेवा पुग्ने देखिन्छ । 

वित्तीय कारोबारलाई आवश्यकता अनुसार ब्यवस्थित बनाउदै सुरक्षित, विश्वसनीय र लाभदायकता प्रदान गर्न प्रभावकारी शिक्षा प्रदान गर्नु नै वित्तीय साक्षरता हो । हामी पैसा कमाउनका निमित्त हरसम्भव प्रयास गरिरहेका हुन्छौं, पैसाको अर्काे पाटो यो खर्च गर्न कै लागि बनाइएको विनिमय साधन हो तर यसलाई कहाँ कति खर्च गर्ने, कसरी खर्च गर्दा प्रभावकारी हुन्छ र बचाउन सकिन्छ, ब्यवस्थित र विश्वसनिय कारोबार कसरी गर्न सकिन्छ भनेर परिचालनको सही विधि जानियो भने मात्र बचत गर्न सकिन्छ । अनावश्यक खर्च कम गरेर, आम्दानीबाट केही भाग छुट्याएर र नियमित रुपमा केही न केही संचित गरेर बचत गर्नु र वित्तीय ब्यवस्थापन गर्नु सुखी जीवनको एक मजबुत आधार हो ।

1872083429bittiya-sanjib-subba.jpeg
undefined

वित्तीय ब्यवस्थापन सम्बन्धी ज्ञान जस्तैः बजेट निर्माण गर्ने, आम्दानी र खर्चको विवरण तयार गर्ने, बचत गर्ने तथा ऋण लिने प्रक्रिया र बीमाका बारेमा धेरै मानिसलाई कम जानकारी हुन्छ । यसले गर्दा उनीहरू अनावश्यक रूपमा ऋणमा डुब्ने, श्रम शोषणमा पर्ने तथा आफ्ना स्रोत र साधनको अनुत्पादक क्षेत्रमा प्रयोग हुन सक्ने जस्ता सम्भावना हुन्छ । त्यसैले न्यून आयस्तर भएका ब्यक्तिहरूलाई पैसाको उचित ब्यवस्थापन गर्न, पूँजी निर्माणको लागि सहयोग गर्न, उनीहरूको सुरक्षा तथा जीवनमा उपलब्ध विभिन्न अवसरहरुको पहिचान गर्न, पैसाको महत्व बुभ्mदै आफ्नो समृद्ध जीवनको खाका तयार गर्न वित्तीय शिक्षाको महत्व देखिन्छ । मानिसहरू परनिर्भरताबाट आत्मनिर्भरतामा प्रवेश गर्ने क्रम बढे लगत्तै व्यक्तिको समाज र परिवारप्रति बढ्दै गएको भूमिका तथा आर्थिक जिम्मेवारीका कारण उनीहरूलाई वित्तीय लक्ष्य निर्धारण गर्न, बचत, ऋण, जोखिमबाट बच्न तथा समग्र रूपमा वित्तीय ब्यवस्थापन बारे जानकारी दिने कार्य वित्तीय साक्षरता हो । यसले भविष्यमा वित्तीय ब्यवस्थापन सम्बन्धी निर्णय कसरी गर्ने भन्ने बारेमा सहयोग गर्नेछ । 

वित्तीय साक्षरता आज सबै स्तरका मानिसहरूलाई अत्यन्त आवश्यक देखिएको छ । उच्च शिक्षा हासिल गरेका ठूला ओहदाका मानिसमा समेत कतिपय वित्तीय कारोबारको पूर्ण ज्ञान नभएको स्थिति छ । उपयुक्त वित्तीय शिक्षा अभावमा उचित निर्णय लिन नसक्दा गम्भीर आर्थिक दुर्घटना भई ठूलो वित्तीय क्षति समेत ब्यहोर्नुपर्ने र समाजमा नकारात्मक असर पर्ने अवस्था पनि देखिएको छ । यद्यपि, मानिसहरूको उमेर समूह, शैक्षिक योग्यता, आर्थिक अवस्था आदिका कारण विभिन्न वर्गका मानिसहरूका लागि फरक–फरक वित्तीय शिक्षा आवश्यक हुने अवस्था पनि रहन्छ । यसले वित्तीय सेवा उपलब्ध गराउने हामी सहकारी संस्थाका कर्मचारीहरूलाई समेत सदस्यहरूको सेवा वा उत्पादनहरूको (प्रडक्ट) बारेमा राम्ररी बुझ्न, उक्त उत्पादनसँग जोडिएको जोखिमको घनत्व एवम् गहिराइ पहिचान गर्न र त्यसलाई ब्यवस्थापन गर्न तथा सदस्यहरुको वास्तविक आवश्यकतालाई पहिचान गरी आफ्ना उत्पादनहरूलाई परिमार्जन गर्न  सहयोग पुर्याउँछ । वित्तीय साक्षरताले समग्र वित्तीय प्रणालीमा विश्वासको अभिवृद्धि गर्दछ र सहभागितामा वृद्धि गर्न मद्दत गर्दछ जसको माध्यमबाट सहकारीको विकास, पारदर्शिता र दीर्घकालीन सफलता प्राप्त गर्न थप टेवा पुग्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार