Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नास्टद्वारा सूचना पहुँच केन्द्र स्थापना

नास्टद्वारा सूचना पहुँच केन्द्र स्थापना

काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोरिया गणतन्त्र सरकारको आधिकारिक विकास सहायता (ओडिए) अन्तर्गत कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी (एनआइए) को प्राविधिक सहयोगमा सूचना पहुँच केन्द्र (आइएसी) स्थापना गरेको छ।

यससम्बन्धी द्विपक्षीय समझदारीपत्रमा सन् २०२० डिसेम्बर ११ मा हस्ताक्षर भई औपचारिक प्रक्रिया सुरु भएको थियो भने केन्द्रको औपचारिक उद्घाटन सन् २०२१ नोभेम्बर ११ मा सम्पन्न भएको थियो।

नेपाल–कोरिया सहकार्यको मुख्य उद्देश्य नेपालमा विद्यमान डिजिटल विभाजन घटाउनुका साथै सूचना प्रविधि क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउनु रहेको नास्टले जनाएको छ।

सूचना पहुँच केन्द्रलाई दुई भागमा सञ्चालन गरिएको छ। पहिलो, नास्ट परिसरभित्र स्थापना गरिएका सूचना प्रविधि प्रयोगशालासहितको भौतिक पूर्वाधार र दोस्रो, घुम्ती सूचना पहुँच केन्द्र (मोबाइल आइएसी बस) हो। प्रतिष्ठानभित्रका सूचना प्रविधि प्रयोगशालामार्फत विद्यालय तथा विश्वविद्यालयका शिक्षक–विद्यार्थी, अनुसन्धानकर्ता, कर्मचारी तथा सरकारी निकायका कर्मचारीहरूलाई आवश्यकता अनुसारका विभिन्न तालिम प्रदान गरिँदै आएको छ।

यसैगरी, मोबाइल सूचना पहुँच केन्द्रमार्फत सातै प्रदेशका विभिन्न स्थानमा रहेका विद्यालय, विश्वविद्यालय, सरकारी निकाय तथा सुरक्षा निकायका कर्मचारीहरूलाई तालिम दिइँदै आएको छ। सन् २०२२ देखि हालसम्म नास्टका सूचना प्रविधि प्रयोगशाला र मोबाइल आइएसी मार्फत झण्डै १२ हजारभन्दा बढीलाई निःशुल्क सूचना प्रविधिसम्बन्धी विभिन्न तालिम प्रदान गरिएको छ। नयाँ अवधारणाका रूपमा सञ्चालनमा आएको यो कार्यक्रमले व्यापक आकर्षण र प्रशंसा पाएको नास्टले उल्लेख गरेको छ।

कार्यक्रमअन्तर्गत कोरियाली सरकारको सहयोगमा दृष्टिविहीन व्यक्तिहरूको जीवनयापन सहज बनाउने उद्देश्यले विभिन्न आधुनिक सहायक उपकरणहरूसमेत उपलब्ध गराइएको छ। सूचना पहुँच केन्द्रमार्फत समय–समयमा नास्ट परिसरका साथै देशका अन्य स्थानहरूमा पनि दृष्टिविहीन लक्षित तालिम कार्यक्रम सञ्चालन हुँदै आएका छन्। स्रोत–साधन सीमित हुँदाहुँदै पनि कार्यक्रमलाई निरन्तरता दिँदै जाँदा यसलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्ने मागसमेत उठ्न थालेको छ।

यसैबीच, हालै राष्ट्रिय सूचना समाज एजेन्सी ९एनआइए० ले ४५ देशका ६० सूचना पहुँच केन्द्रका कार्यक्रमहरू समेटेर ३ देखि ५ मिनेट अवधिका सफलता कथा तथा प्रभावकारी उपयोग झल्किने भिडियो प्रतियोगिता आयोजना गरेको थियो। विभिन्न देशबाट प्रस्तुत ३० भिडियोमध्ये नास्ट तेस्रो स्थान हासिल गर्न सफल भएको छ। सीमित प्राविधिक उपकरण र जनशक्तिका बाबजुद प्राप्त यो उपलब्धि नास्ट मात्र नभई सम्पूर्ण देशका लागि गौरवको विषय भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार