Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी बैंकलाई कसैको 'क्लब' नबनाऔं: अध्यक्ष महेन्द्र कुमार गिरी

सहकारी बैंकलाई कसैको 'क्लब' नबनाऔं: अध्यक्ष महेन्द्र कुमार गिरी

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले सहकारी बैंकलाई कसैको 'क्लब' नबनाउन आग्रह गरेका छन् । सहकारी बैंकदेखि संघ महासंघमा राजनीतिक दलहरुले 'हेभी इन्टरफेरन्स' गरेको तितो यर्थाथप्रति इंगित गर्दै उनले यी निकायहरुलाई कुनै राजनीतिक दलको क्लबको रुपमा विकसित नगर्न सचेत गराएका हुन् । निर्वाचनको सम्मुख रहेको बैंकका सम्बन्धमा बहिर्गमन नजिक रहेका उनले भने, ‘सहकारी बैंकलाई कसैको क्लब नबनाऔं । काम गर्ने साथीहरु जुनसुकै वा जताको भएपनि राम्रो हिसाबले आऔं । सौहार्दपूर्ण हिसाबले आऔं ।’

जटिल परिस्थितिमा सहकारी बैंकको अध्यक्ष बनेको गिरीले त्यसको असर केलाएरै आज २२औं वार्षिक साधारणसभाको समापन कार्यक्रममा भने, ‘मेरो भनाइ के हो भने, कि त प्रोफेशनल व्यक्तिहरुले बैंक चलाउनुपर्छ । होइन भने अन्य व्यक्तिहरु पनि प्रोफेसनल बन्नुपर्छ ।’

निर्वाचनको संघारमा रहको सहकारी बैंकको भावी नेतृत्व कस्तो बन्नुपर्छ भन्ने विषयमा समेत बोलेका अध्यक्ष गिरीले भने, 'बैंक मात्र होइन नेफ्स्कून, महासंघ आदि कसैलाई पनि क्लब बनाउन नहुने स्पष्ट पारे । उनले भने, ‘बैंक मात्र  होइन, नेफ्स्कून महासंघ आदि जहाँ जहाँ हुन्छ काम गर्ने प्रोफेशनल सबै क्षेत्रको साथीहरु आउँदा बेटर हुन्छ । यसको लागि सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गर्दछु ।’

उनले थपे, ‘म भन्छु कुरा बुझ्ने साथी बैंकको सञ्चालक समितिमा आउनुपर्यो  । मेरो कुरा त्यही हो । चण्डीजी, डम्बरजीसहित हाम्रो जुम्लाको साथी सबै रहर गरी रहनुभएको छ । सबैलाई मेरो अनुरोध आउनुहोस् तपाईहरु । बिग्रेको केही छैन । अब कसरी राम्रो बनाउने भन्नेमा लागौं । धेरै कुरा हामीहरुले व्यवस्थित गरिसकेको छ । व्यवस्थापन टिमले पनि धेरै राम्रो काम गरेको छ पछिल्लो पटक । अर्को साल २ अर्ब नाफा हुन्छ, होइन त भरत सर । ३ अर्ब नै पुग्यो भने त लाभांश बाँड्न पनि पुग्ला ।’

त्यसका लागि सल्लाहकारहरुको सहयोगको याचना उनले गरे । अध्यक्ष गिरीले भने, ‘सल्लाहकारहरुलाई पनि म त्यही आग्रह गर्छु । किनकि यहाँ अलि त्यस्तैत्यस्तै नै हुन्छ । त्यसलाई चाहिं अलि मिलाएर राम्रो टिम बनाउन यहाँहरुले भूमिका खेल्नुपर्छ । 

उनले काम गर्ने प्रोफेशनल सबै क्षेत्रका अभियन्ताहरु बैंकमा आउँदा बेटर हुने बताए । र उनले भने, ‘यसको लागि सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गर्दछु ।’

आफू आइसकेपछि सञ्चालक समितिका सबैलाई प्रोफेशनल बनाउने काम शुरु गरेको उनले जिकिर गरे । ‘हामीले व्यवस्थापनले तयार गरेका प्रस्ताव र प्रतिवेदन पूर्णतः पढ्नुपर्यो, वित्तीय साक्षरता पढ्नुपर्यो भनेर बैंकका पूर्व अध्यक्ष रमेश पोखरेल समेतलाई पढाउने काम गर्यौं, ’अध्यक्ष गिरीले सुनाए, ‘पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) लगायतका विषयमा समेत हामीले पनि पढ्यौं र रमेश पोखरेल सरलाई समेत पढायौं । त्यसपछि हामीले पोखरेल सरलाई ऋण उठाउन लुम्बिनी सम्म पुर्यायौं । करिब ८ वर्ष अध्यक्ष भएका पोखरेलले आफूलाई त यस्तो प्राविधिक विषयहरु थाहै थिएन समेत भन्नुभयो । यद्यपि, भाषण गर्ने सबै सरहरुले दामी डिभिडेन्ड बाढ्छौं भन्ने मात्र गर्नुहुन्थ्यो ।साँच्चै भन्ने हो भने बैंकको पछिल्लो समिति लाटो चाहिं थिएन है । लाटो भनेर हामीलाई खिसिट्युरी गरेको अवस्था थियो ।’

आफू नेतृत्वको समिति आएपछि बैंकले आन्तरिक व्यवस्थापनमा व्यापक सुधार गरेको उनले दाबी गरे । सञ्चालक समितिले २५ बुँदे कार्यदिशा निर्माण गरेसँगै सानो सानो ऋण लगानीलाई प्राथमिकतामा राखेका छौं र त्यो अभ्यासमा पनि छ, ’उनले भने, ‘पहिला पहिला एउटै संस्थालाई  ४० करोड रुपैयाँसम्म लगानी गरिएको रहेछ । २५ वटा सम्म यसरी लगानी गरिएको रहेछ । कोशीप्रदेश देखि पश्चिमसम्म ठीक छ तर बागमतीका केही ठाउँमा यस्तो ठूलो लगानी गरेर ५ अर्ब रुपैयाँ जोखिममा पारेको रहेछ ।’

विगतलाई सम्झदै उनले स्वीकारोक्ति भावमा भने, ‘हामी त के सञ्चालक नै भएपनि जयजयकार मात्र गर्यौं त्यतिखेर । हेर्दै हेरिएन । भोलिको बैंकको नयाँ नेतृत्वका साथीहरुर्ला थाहा होस् भनेर विगतका गल्ती कमजोरीहरु स्पष्टसँग राखेको हुँ ।  भावी नेतृत्वले कहाँ कहाँ हेनुपर्छ, ध्यान पुर्याउनुपर्छ भनेर आफूले बेलैमा सचेत गराएको हुँ ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार