Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

सूर्यविनायक-धुलिखेल सडक निर्माणलाई तीव्रता दिन मन्त्री घिसिङको आग्रह

सूर्यविनायक-धुलिखेल सडक निर्माणलाई तीव्रता दिन मन्त्री घिसिङको आग्रह

काठमाडौं । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्ड १५।८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।

यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८।३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७।५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिएका छन् । निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङलले काम गर्ने अहिले उपयुक्त मौसम रहेकाले निर्माणलाई तीव्रता दिन आग्रह गरे ।

उनले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उनले उल्लेख गरे ।

सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार