Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
कार्तिक शुक्ल चतुर्दशी

भगवान् विष्णुको पूजा आराधना गरी आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

भगवान् विष्णुको पूजा आराधना गरी आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ । वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ ।

वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जाग्राम बस्ने गरिन्छ । चतुर्दशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ । शिवसँग सम्बन्ध भएकालाई शिव वैकुण्ठ र विष्णुसित सम्बन्ध भएकालाई ‘विष्णु वैकुण्ठ’ भनिन्छ । शिव पूजाका लागि अरुणोदयव्यापी चतुर्दशी उत्तम मानिएको छ भने उपवासका लागि अहोरात्रको अरुणोदय चतुर्दशीले युक्त दिनलाई उपयुक्त मानिएको छ ।

गति निरोधक गर्नेलाई ‘विकुण्ठ’ भनिन्छ र त्यो सम्पादन गर्नेलाई वैकुण्ठ भनिन्छ । जगत् सृष्टि गर्ने क्रममा भगवान्ले पृथ्वीलाई जलसित आकाशलाई वायुसित र वायुलाई तेजका साथ अविचल हुने गरी मिलाएकाले उनको नाम ‘वैकुण्ठ’ रहेको भन्ने पौराणिक मान्यता पनि छ ।

यस दिनसको पूजा गर्ने नसकेमा विष्णुका नाम मात्रको उच्चारणले पनि ठूलो पुण्य प्रदान गर्छन् र आपत्विपतबाट बचाउने विश्वास गरिन्छ । भगवान् विष्णुका सबै नाम ऐश्वर्य, स्वामित्व, व्यापकता, परोपकार, दुष्टदमन, लोकसंरक्षक आदि गुणको सम्बन्धले युक्त छ ।

धर्मराज युधिष्ठिरले भीष्मसित यस विषयमा धेरै कुरा सोधेको महाभारतको शान्तिपर्वमा उल्लेख छ । भीष्मले विष्णु स्तुति गर्दा वा जप्दा व्यक्ति सम्पूर्ण दुःखदेखि पार हुन सक्छन् भनेर युधिष्ठिरसहित पाँच पाण्डवलाई सम्झाएको वर्णन महाभारतमा उल्लेख गरिएको छ । भीष्मले गरेको यो स्तुति गानको समय भएकाले आजको दिनदेखि भीष्मपञ्चक पनि सुरु हुन्छ ।

देवताका पनि देवता विष्णु सर्वाधिक रूपले पुजनीय मानिन्छ। भगवान् विष्णुको गण स्थलबाट पैदा भएकाले गण्डकी नाम रहन गएको पौराणिक मान्यता छ । दामोदर कुण्ड पनि कालीको शिर मानिएको छ । दामोदर पनि भगवान् विष्णुको नामसँग सम्बन्धित छ । काठमाडौँ उपत्यकामा रहेका र बग्ने नदीमध्ये एकको नाम विष्णुमती छ । जसको उत्पत्ति विष्णुपादुकाबाट भएको हो । विष्णु पादुका डाँडाको फेदमा रहेको बूढानीलकण्ठ विष्णु मूर्ति मान्यताका साथै कलात्मकताका दृष्टिले पनि सुप्रसिद्ध छ ।

भगवान् विष्णु पालनकर्ताका रूपमा स्थापित भई सबैलाई पालन गरेर रहने क्रममा जागा भई वैकुण्ठाधिपति भगवान् वैकुण्ठ धाममा गएका थिए । आजैका दिन विष्णु वैकुण्ठधाम गएका पौराणिक मान्यता रहेको बताइन्छ । 

हरिशयनी एकादशीका दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णुले त्यस अवधिमा कार्यभार भगवान् शिवलाई दिएका थिए । आज त्यो कार्यभार भगवान् शिवले विष्णुलाई दिएर कैलाश जाने विश्वास पनि गरिन्छ । यसैले आजको दिनलाई हरि र हर मिलनको उत्सवका रूपमा मनाइन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार